fbpx

लौ हेर्नुस ! यसरी बन्छ घरेलु रक्सी : युरिया मल, बाग्मतीको फोहोर पानी र अखाद्य वस्तु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । युरिया मल,बाग्मतीको फोहोर पानी र अन्य अखाद्य बस्तुहरु मिलाएर घरेलु रक्सी बनाउने एउटा अखडामा महानगरीय प्रहरी वृत नयाँं बानेश्वरले छापा मारेको छ ।

हिजो दिउंसो कामपा बडा नम्बर ३१ को बाग्मती किनारमा रहेको सुकुम्बासी बस्तीका छाप्राहरुबाट प्रहरीले ठूलो परिमाणमा घरेलु रक्सी, रक्सी बनाउन प्रयोग गरिने अखाद्य बस्तु र साथमा भाँडाकुडा बरामद गरेको छ ।

सर्वसाधारण विपन्न जनताले अत्याधिक मात्रामा प्रयोग गर्ने यस्तो घरेलु रक्सीको सो सुकुम्बासी टोलमा बर्षौदेखि व्यवसायिक रुपमै उत्पादन र बिक्री वितरण हुदै आएको थियो ।

काठमाडौंका सडक गल्लीका कुना काप्चांमा खुलेका अनगिन्ती भट्टी पसलहरुमा यस्ता रक्सीको उपयोग ज्यामी मजदुर लगायतको गरीब वर्गले खुल्ला रुपमा उपयोग गर्दै आएका छन् ।

सर्वसाधारण जनताको जनस्वास्थ्यमाथि गम्भिर खेलबाड् हुदै आएको यस्तो धन्दा रोक्ने अभियानमा यतिबेला महानगरीय प्रहरी वृत नयाँ बानेश्वर तदारुकताका साथ लागेको छ ।

विपन्न मजदुर वर्गले उपयोग गर्ने यस्तो घरेलु रक्सीको सेवनले कलेजो,किड्नी र आन्द्रासयमा गम्भिर असर पुराउने डाक्टरहरु बताउंछन् । युरियायुक्त रक्सीको सेवनले जुनसुकै बेला ज्यान सक्ने डाक्टरहरुको भनाइ छ । बानेश्वर प्रहरीले स्थानियवासीको अनुरोध र सुराकीका आधारमा हिजो सुकुम्बासी टोलमा छापा हानेको हो ।

बानेश्वर वृत्तका प्रमुख डिएसपी गोविन्दराज काफ्लेका अनुसार जनताको स्वास्थ्यलाई गम्भिर हानी पुराउने कच्चा पद्धार्थ प्रयोग गरेर बनाइने यस्ता रक्सीे भट्टीहरु माथि प्रहरीले निरन्तर कार्बाही चलाउने र त्यस्ता उत्पादकहरुलाई मुद्धा चलाउने जानकारी नेपालबहस डटकमलाई दिएका छन् ।

मर्चाको सट्टा घरेलु रक्सी बनाउन प्रयोग गरिएको युरिया मल

बानेश्वर वृत्त मातहतका अन्य ठाउंहरुमा पनि यस्ता अपराधजन्य रक्सी भट्टीहरु रहेको सुचना आफुले पाएको बताउदै डिएसपी काफ्लेले भने, अब त्यस्तो बनाउने र बेच्ने दुवै पक्षलाई कडा भन्दा कडा कार्बाही गरिने छ ।

प्रहरीले छापा हानेको ठाउंबाट २ हजार ६ सय लिटर मदिरा, रक्सी बनाउन प्रयोग गरिने ६ हजार लिटर कच्चा पद्धार्थ,जांड ५ हजार लिटर, मदिरा बनाउन प्रयोग गरिने कमसल सख्खर भेली ४ सय केजी र युरियाको रेडिमेड कच्चा पद्धार्थ ३० केजी, बाग्मती खोलाबाट सिधै पानी तान्ने कालो पाइप र भांडाकुडा बरामद गरेर सबै सामाग्री समाजसेवी र संचारकर्मीको रोहवरमा नष्ट गरेको छ ।

डिएसपी काफ्लेका अनुसार एक पटकलाई मदिरा बनाउने संचालकलाई सम्झाइ बुझाइ अन्य काम गरेर खान भन्दै छोडिएको छ । बानेश्वर प्रहरीले गरेको यो अभियान प्रशंसनीय रहेको कामपा ३१ का सामुदायिक सचिव तथा अधिवक्ता गणेश केसीले बताएका छन् ।

केसीले,आफूहरुलाई गरीब भन्नेहरुले आफुभन्दा कम आम्दानी हुने श्रमिकको स्वास्थ्यमाथि खेलवाड र अपराध नगर्न सचेत गराएका छन् ।
बानेश्वर बृत्तमा भर्खरै सरुवा भएर आएका डिएसपी काफ्लेले टोल टोलमा प्रहरी अभियानको थालनी गत शनिबारदेखि नै सुरु गरेका छन् । सोही अभियान मुताबिक उनले बृत्त मातहतका प्रत्येक कलेज र स्कुल तथा टोलमा लागुऔषध बिरुद्ध जनचेतना अभियानको थालनी निरन्तर भैईरहेको छ भने, अन्य सामाजिक अपराध नियन्त्रण तर्फ पनि बिशेष कदम चालिरहेका छन् ।

साथै जनसेवामा खट्ने प्रहरी कर्मचारीलाई चुस्त दुरुस्त राखि उर्जाशिल बनाउन कार्यालय व्यवस्थापनमा पनि आमुल सुधारको प्रारम्भ गरिसकेका छन् ।

समाज परिवर्तन गर्न सुरुवात आफैबाट गर्नुपर्छ भन्ने मान्यता बोकेका डिएसपी काफ्लेले यस वृत्तलाई स्मार्ट बनाउने अभियानको थालनी गरिसकेको नेपालबहस डटकमलाई बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार