fbpx

अनसन तोडेपछि मात्रै डा.केसीसँग वार्ता गर्ने ओली के महाराजा हुन र ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । माफियाको अनुकुलमा ल्याउन लागिएको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता नगरेसम्म अनसन नतोड्ने डा.गोविन्द केसीले अडान राखेको सोमबार २४ दिन पुगेको छ ।

जुम्लाबाट जबर्जस्ती उठाएर काठमाडौँ ल्याउँदा तानाशाही प्रवृत्ति देखाएको सरकारले त्यसपछि वार्ताका लागि कुनै पहल गरेको छैन । तर डा.केसी स्वास्थ्य अवस्था जटिल बनेपनि सरकारसँग कुनै हालतमा नझुक्ने स्पष्ट अडानमा छन ।

उनले जुम्ला छँदै सरकारले वार्ताका नाममा नौटंकी गरेको भन्दै कर्मचारीसँग वार्ता नगर्ने अर्को अडान पनि थपेका थिए । मन्त्रीसँगको टोली पठाए वार्ता निष्कर्षमा पुग्ने र अनसन छिटै तोडिने डा.केसीको सुझाव थियो ।

तर दुई तिहाई बहुमतको सरकार चलाएका प्रधानमन्त्री केपी शर्मा ओली माफिया अनुकुलमा चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरिछाड्ने दाउमा छन । अहिले उनको मुखबाट डा.केसीको अनसनमा नयाँ ‘ट्वीस्ट’ आएको छ ।

त्यो के भने डा.केसीले अनसन छाडेर वार्ता गर्न बालुवाटार पुगे प्रधानमन्त्री ओलीले सिधै वार्ता गर्नेछन । प्रधानमन्त्री निकट श्रोतले बताए अनुसार ओलीले मन्त्री नपठाई अब आफै वार्ता गर्ने भन्नुको पछाडी अनसन तोडे पछि वार्तामा बस्ने अडान थपेका छन ।

यसअघि सरकारले गठन गरेको शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीसँग डा.केसी पक्षले वार्ता गर्न नमानेपछि ओली सरकार नै अफ्ठ्यारोमा परेको छ ।

बराल नेतृत्वको सरकारी वार्ता टोलीले तीन पटक वार्ता गरेपनि डा.केसीलाई काठमाडौ ल्याउनुपर्ने अडान राखेको थियो । जुन केसी पक्षले अस्वीकार गरेको थियो ।

अन्ततः सरकारले बल प्रयोग गरेर डा.केसीलाई उठायो । तर उनका माग सम्बोधनमा भने कानमा तेल हालेर बसेपछि ओली सरकारविरुद्ध नागरिक समाज आक्रोशित बनेको छ ।

के ओली महाराजा हुन ?

यो समस्या सुल्झाउनुको साटो ओली आफै महाराजा जसरी अनसन तोडेर आए आफुले डा.केसीसँग वार्ता गर्ने नयाँ अडान लिएर बसेका छन । यसले जनताको दुई तिहाई बहुमत पाएको सरकारको प्रवृति देखाउँछ, के ओली महाराजा हुन ?

उनको दर्शनकै लागि अनसन तोड्नुपर्ने र नागरिकका मागका विषयमा बेवास्ता गरेर ज्यान जोखिममा राखेर सरकारसँग झुक्नुपर्ने ? के डा.केसीले ओलीसँग दर्शनकै लागि अनसन बसेका हुन । विकसित देशमा नागरिकका समस्यामा सरकार अघि सर्छ ।

कर्मचारी र मन्त्रीबाट समस्या समाधान भएन भने कार्यकारी प्रमुख प्रधानमन्त्री वा राष्टपति नै नागरिकका घरदैलोमा पुग्छन । तर नेपालको इतिहासमै दुई तिहाईको सरकारका प्रधानमन्त्री ओलीले आफु महाराजा हुँ जसरी ‘पहिला अनसन तोड अनि मात्रै म वार्तामा बस्छु’ भन्नु निकै हास्यास्पद मानिन्छ ।

माग सम्बोधनका लागि नागरिक समाजले चर्को दबाब दिएपछि निकै दबाबमा परेको ओली सरकारले माग पुरा गरेर समस्या सुल्झाउनुको साटो उल्टै गैरजिम्मेवार तर्क गरेर पन्छिदै गएको छ । यसले पनि डा.केसीको अनसन ओली सरकारका लागि थप सकस हुने स्पष्ट छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार