fbpx

विधेयक सच्याउन सरकार तयार, डा.केसीलाई राजनीतिकरण नगर्न कांग्रेसलाई चेतावनी


Share This

नेपालबहस संवाददाता    

विराटनगर, ७ साउन । सरकारले डा.गोविन्द केसीको मुख्य माग अनुसार चिकित्सा शिक्षा विधेयक सच्याउन तयार रहेको जनाएको छ । तर डा.केसीलाई उचालेर राजनीति नगर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई चेतावनी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमा भएका त्रुटिलाई सच्याउन सरकार तयार रहेको बताएका हुन । यद्यपी यसअघि सर्वसम्मत रुपमा आएको चिकित्सा शिक्षा अध्यादेश पनि त्रुटिपुर्ण रहेको मन्त्री पोखरेलको दाबी छ ।

डा.गोविन्द केसीको अनशनलाई राजनीतिकरण गरेर कांग्रेसले विधेयकको कुप्रचार गर्न खोजेको भन्दै मन्त्री पोखरेलले आपत्ति जनाएका थिए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “स्वास्थ्य शिक्षा अध्यादेशमा रहेका त्रुटि सच्याउन सरकार प्रतिवद्ध छ ।”

मन्त्री पोखरेलले शिक्षण अस्पताल खोल्न रोक लगाउनु समस्याको समाधान होइन भन्दै मापदण्ड पूरा गरेका शिक्षण अस्पताललाई सम्बन्धन दिनुपर्ने आवश्यकता औल्याएका थिए ।

विगतको सरकारले ल्याएको स्वास्थ्य अध्यादेशमा केही परिस्कृत गरी ल्याउन लागेको विधेयकलाई संसद्मा छलफल गरी पारित गर्नु नै लोकतान्त्रिक पद्धति भएको उल्लेख गर्दै उनले वर्तमान सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति अन्त्य हुने जिकिर गरेका थिए ।

तपाईको प्रतिक्रिया