fbpx

रक्सी खाएर कार चलाउँदाको परिणाम : बाबुको मृत्यु, छोरासहित ३ घाइते


Share This

नेपालबहस संवाददाता    

भक्तपुर । रक्सी खाएर कार चलाउँदा मंगलबार राती भक्तपुरमा कार चालकको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् ।

अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका राउतको उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका कारमा सवार रमेशराजका छोरा १८ वर्षीय रवीन राउतको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

सोही समयमा एकै दिशाबाट आइरहेको बा ४६ प १५५२ नम्बरको मोटरसाइकलले दुर्घटनाग्रस्त कारलाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप खाँडादेवीका ३१ वर्षीय विष्णुबहादुर श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रामेछाप घर भएका ३३ वर्षीय राजन श्रेष्ठसमेत घाइते भएका छन् । घाइते दुवैको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कार चालक रमेशले मादकपदार्थ सेवन गरी चाल चलाउँदा कार अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएको र कार ठोक्किएर फर्किदा मोटरसाइकलसमेत कारमा ठोक्किन पुगी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया