फोरमले नयाँ शक्तिलाई चुनाव चिह्न प्रयोग गर्न नदिने


Share This

नेपालबहस संवाददाता    

१५ साउन, काठमाडौं । स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न नदिने भएको छ। राजधानीमा सम्पन्न समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।

निर्वाचन आयोगले पार्टीको हैसियतमा चुनाव चिह्न नदिएपछि नयाँ शक्तिले पहिलो र दोस्रो चरणका स्थानीय तह निर्वाचनमा समाजवादी फोरमको चुनाव चिह्न हातले बोकेको मसाल प्रयोग गरेको थियो।

बैठकमा पार्टीका केन्द्रीय नेतामध्ये अधिकांशले नयाँ शक्तिसँगको कार्यगत एकताबाट पार्टीलाई घाटा भएको विश्लेषण सुनाए। नयाँ शक्तिसँगको तालमेलले केही ठाउँमा मतदाता झुक्किएर अरू पार्टीलाई भोट हाल्न पुगेको जानकारी पनि उनीहरूले बैठकमा दिए।

नयाँ शक्तिको प्रभाव कतै पनि नदेखिएको भन्दै उनीहरूले नयाँ शक्तिले फोरम नेपालको चुनाव चिह्न प्रयोग गरेर आफ्नो प्रभाव देखाउन खोजेको आरोप लगाए।

यसैबीच नयाँ शक्तिका संयोजक डा।बाबुराम भट्टराईले फोरम नेपालको उक्त निर्णयसँगै दुवै पार्टीबीच एकताको ढोका बन्द भएको टिप्पणी गरेका छन्।

 

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार