संशोधन विधेयक निर्णयार्थ पेस गरिने , केन्द्र–प्रदेशको निर्वाचन एकैपटक


Share This

नेपालबहस संवाददाता    

१५ साउन, काठमाडौं । सरकारले व्यवस्थापिका संसद्मा पेस भएको संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने भएको छ । संविधान संशोधनको मागसहित आन्दोलन गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधन चाहेको तर प्रमुख प्रतिपक्षी दल एमालेलगायतको विरोधका कारण संसद्मा अड्किएको विधेयकलाई पास या फेल जे भए पनि निर्णयार्थ पेस गर्ने तयारीमा सरकार जुटेको हो ।

शनिबार साँझ सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भए पनि आफू विधेयक अघि बढाउने पक्षमा पुगेको बताएका हुन् । संशोधन एजेन्डा टुंगो नलागेसम्म राजपाले निर्वाचनमा सहभागिता नजनाउने बताएको भन्दै उनले राजपा नेतासँग समेत कुरा गरेर चाँडै विधेयकलाई टुंगो लगाइने बताए ।

प्रधानमन्त्री भन्छन्– पास फेल जे हुन्छ, निर्णयार्थ जान्छ

संविधान कार्यान्वयनको मूल एजेन्डासहित आफू प्रधानमन्त्री निर्वाचित भएको स्मरण गर्दै देउवाले आगामी ७ माघभित्र कुनै पनि हालतमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराएरै छाड्ने प्रतिबद्धतासमेत दोहो¥याएका छन् ।त्यसका लागि आफू तत्काल निर्वाचन मिति घोषणा गर्न जुटेको भन्दै देउवाले निर्वाचन आयोगसँगको परामर्शपछि केही दिनभित्रै मिति तय हुने बताए ।

आगामी कात्तिक या मंसिरभित्र कुनै पनि हालतमा निर्वाचन हुनुपर्ने पक्षमा आफू रहेको भन्दै देउवाले सकेसम्म दुवै निर्वाचन एकैपटक र एउटै मितिमा सम्पन्न गर्नेगरी गृहकार्य अघि बढाएको जानकारी दिए । प्रमुख प्रतिपक्षी दल एमालेसमेत दुवै निर्वाचन एकैपटक र एकै चरणमा गर्न सकारात्मक बनेपछि देउवाले निर्वाचन मिति घोषणाको गृहकार्य तीव्र बनाएका हुन् ।

 

 

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार