एक रात बादी बस्तीमा सुतेर देखाउन सांसदको चुनौति


Share This


नेपालबहस संवाददाता    

ललितपुर । सांसद, दलित अधिकारकर्मी, बुद्धिजीवी लगायतले दलितका विषयलाई महत्व नदिइएको गुनासो गरेका छन् । बादी उत्थान विकास समितिले बुधबार आयोजना गरेको कार्यक्रममा उनीहरुले राजनीतिक, सामाजिक, सञ्चारमाध्यम सबैले दलितका विषयवस्तुमा गम्भीर हुनुपर्नेमा जोड दिएका हुन् ।

समितिका उपाध्यक्ष रामे बादी यो समुदाय आर्थिक र सामाजिकरुपमा पछि रहेको बताए । उनले भने, “एक टुक्रा जग्गासमेत नहुँदा धेरैले कठीन जीवन बिताउनुपरेको छ ।” यो समुदायको उत्थानका लागिसमेत समिति खारेज गर्न नहुनेमा उनको जोड छ ।

प्रतिनिधिसभा सदस्य पार्वती बिसंखेले आफूले पटकपटक दलित भएकै कारण भोगिरहेका समस्याका बारेमा सदनमा राखिरहेको बताए ।

उनले भने, “कतै जनप्रतिनिधि नै दलित हुँदा मारिने त कतै दलित भएकैले घर भाडामा नपाउँदा विषय उठाउँदा पनि मिडियाको ध्यान दिएनन् ।” कुनै पनि साहित्यिक सिर्जना गर्दा दलितलाई होच्याउ विषयवस्तु र शब्द राख्न नहुनेमा उहाँको जोड छ ।

पूर्वसांसद हरि श्रीपाइलीले बादी समुदायको वास्तविकता बुझ्नका लागि उनीहरुको बस्तीमा कम्तीमा एक रात बिताउनुपर्नेमा जोड दिनुभयो । उनले भने, “त्यहाँ बसेर आएर लेख्दा मात्रै साहित्यकारले वास्तविकता लेख्न सक्छन् ।” बुद्धिजीवी हरि विश्वकर्माले तथ्यांक विभागसँगको सहकार्यमा खण्डीकृत तथ्यांक राख्नुपर्नेमा जोड दिए ।

दलित गैरसरकारी महासंघका उपाध्यक्ष भक्त विश्वकर्माले दलित आयोगले स्थापना हुँदाको उद्देश्य पूरा गरी नसकेकाले विघठन गर्न नहुने बताए । समितिका कार्यकारी निर्देशक महेश नेपालीले दलित समुदाय संवेदनशील समुदाय भएको उल्लेख गरेका थिए ।

तपाईको प्रतिक्रिया