भटाभट चुनिँदै छन् जिससमा दलका कार्यकर्ता


Share This

नेपालबहस संवाददाता    

२२ साउन, काठमाडौं । जिल्ला समन्वय समिति रोल्पामा नेकपा (माओवादी केन्द्र) बाट मात्रै उम्मेदवारी परेका कारण निर्विरोध हुने स्थिति देखापरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्न दिएको समय सीमाभित्र माओवादी केन्द्रका उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ ।

जिल्ला समन्वय समितिका संयोजकमा राजबहादुर बुढा र सहसंयोजकमा विमला बुढाको उम्मेदवारी परेको छ । यसैगरी, समन्वय समितिको सदस्यमा कर्मलाल परियार, खमिता रानामगर, शर्मिला बुढामगर, मानबहादुर केसी, मीना पुनमगर, धनबहादुर पुनमगर र लोकमन ओलीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ओलीले जानकारी दिए ।

एउटा दलको मात्रै उम्मेदवारी परेको भए पनि निर्वाचनका सम्पूर्ण प्रक्रिया पूरा गरी साउन २७ गते औपचारिक रुपमा निर्वाचित भएको घोषणा गरिने ओलीले बताए ।

दश स्थानीय तह रहेको रोल्पामा माओवादी केन्द्रले सात, नेकपा एमालेले दुई र नेपाली कांँग्रेसले एक स्थानीय तह जितेका थिए । माओवादी केन्द्रको एकल बहुमत भएकाले नेपाली काँग्रेस र एमालेले उम्मेदवारी दर्ता नगराएको बताइएको छ ।

काठमाडौँ जिसस प्रमुखमा वैद्य

त्यस्तै, काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा(एमाले)का शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन् ।
आज भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनका निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गर्नु गरेका छन् ।
सात सदस्यीय समितिमा सबै एमालेका उम्मेदवार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए।

निर्वाचित सदस्यमा रघुनाथ तिमिल्सेना, उद्धव भण्डारी, कृष्ण लम्साल, तेजिला थापा, सावित्रा ढकाल, सान्नानी लामा र शिला शर्माकार रहेका छन् । नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आजै शपथ गराइएको छ ।

रसुवामा पनि एमाले
उता रसुवामा पनि जिल्ला समन्वय समिति कार्यसमिति निर्वाचनमा एक दलको मात्र मनोनयनपत्र दर्ता भएको छ । आगामी साउन २७ गते हुने निर्वाचनमा एमालेका उमेद्दारले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले)का तर्फबाट जिसस प्रमुखमा कुलप्रसाद भट्ट एवम् उपप्रमुखमा छोपेमा तामाङ तथा एक अल्पसंख्यक, तीन महिलासहित नौ जनाको मनोन्वयनपत्र दर्ता भएको हो । जिल्लामा पाँच गाउँपालिका भएकाले गाउँपालिका प्रमुख र उपप्रमुखमा १० मतदाता छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार