रसुवामा पहिरोमा परी चारजना बेपत्ता, जारकोट–डोल्पा सडक अबरुद्ध


Share This

नेपालबहस संवाददाता    

२३ साउन, काठमाडौं । अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चारजना हराइरहेका छन् भने घाइते अवस्थामा चार जनालाई उद्धार गरिएको छ ।

गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वषीय धर्मबहादुर थापामगर, उनको बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेका छन् ।

माथिबाट निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले उनीहरुको उद्धारमा पुगेको नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई कठिनाइ भएको छ । पहिरोमा परी अन्य चारजना घाइते भएकामध्ये रुद्र थापामगर र देवकी थापामगरको अवस्था गम्भीर छ । चारै जना घाइतेको नुवाकोटको मनकामना शान्तिबजारतर्फ लागेर स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरुलाई उपचारका लागि अस्पताल ल्याउन पहिरोले सडक अवरुद्ध रहेको र आवत जावतमा समेत कठिनाइ भएकाले सकिएको छैन ।

आइतबार साँझदेखि नै वर्षा भइरहेकाले राति ९ बजे पैरेबेशीस्थित माथिबाट पहिरो आएको स्थानीय बासिन्दाले बताएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार वर्षाले रसुवाको लहरेपौवास्थित खाल्डेदेखि नै घटनास्थल पैरेबेशीसम्म पुग्न रसुवा र नुवाकोटको विभिन्न स्थानमा पहिरो बगिरहेकाले उद्धार गर्न थप टोली घटनास्थलमा जान सकेको छैन ।

जाजरकोट–डोल्पा सडक अवरुद्ध

पहिरोका कारण जाजरकोट–डोल्पा सडकखण्डको खलंगादेखि डोल्पाको सिमानामा त्रिवेणी सम्मको यातायात सेवा अवरुद्ध भएको छ । करिब ७० किमी सडकखण्डभित्र चल्ने सबै खालका यातायातका साधन अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् ।

खलंगा रिम्ना, छेपारे राडी, वगारा तल्लु र तल्लु त्रिवेणी सम्मको यातायात सेवा अवरुद्धसँगै यस क्षेत्रका यात्रु गन्तव्यमा पुग्न निकै मुस्किल भएको छ । डोल्पा पुग्नका लागि एक मात्र यो रुट रहेको छ । अहिले डोल्पामा हवाई सेवासमेत प्रभावित भएको छ । भत्किएको कच्ची सडक र भिरालो भूबनोटका कारण तत्काल मर्मत कार्य हुन सकेको छैन । बीच बीचमा ठूला–ठूला खोला र भेरी नदीमा पुल नभएका कारण थप यातायात सञ्चालनमा चुनौती थपिएको हो । हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि सञ्चालनमा आएका यातायातका साधन अहिले खोला बढेसँगै ठप्प भएको बताइएको छ । कतै छिट्पुट रुपमा बीच बीचमा सञ्चालनमा आए पनि मोटो रकम असुल्दै यात्रु ओसार पसार कार्य भइहेको यात्रुको भनाइ छ ।

त्यस्तै, जाजरकोट जुम्ला सडकखण्डभित्र पर्ने खलंगा पाँचकाटिया सडकमा यातायात सेवा अवरुद्ध भएको छ । वाँकेखोेला, रिटाखोला, पिपलचौरखोला, वगारा, सपनेखेत, वडाखोला, कार्यखेत, तात्राखोला, तासुगाड खोलामा पानीको सतह बढेपछि पुल नहुँदा समस्या भएको छ । त्यस्तै, दर्जनौँ ठाउँमा सडकको बीच बीचमा पहिरोले सडक भाँसिएका कारण यातायात सञ्चालनमा आउन नसकेको हो । कुदु जगतिपुर हुँदै कार्कीगाउँसम्म चल्ने मध्यपहाडी लोकमार्गमा यातायात सेवा ठप्प भएको छ । मोर्क खोलामा ठेकेदारको लापरबाहीका कारण ५ वर्षदेखि पुल नबन्दा यहाँको यातायात सञ्चालन गर्न सकिएको छैन । अहिले मोर्क खोलामा पनि पानी बढेका कारण स्थानीयवासी वारापार गर्न नै समस्या परेको स्थानीयवासी पूर्णबहादुर महतराले बताए ।

क्षति भएको ठाउँमा राहत र पुल निर्माण गर्ने जिल्ला समन्वय समितिको निर्णय

बाढीपहिरोको कारण ठाउँ ठाउँमा क्षति भएपछि आइतबार बसेको जिल्ला समन्वय समितिको बैठकले राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको समितिका संयोजक मनबहादुर रावलले बताए । त्रिवेणी नलगाड नगरपालिकाको अ‍ैरारीमा काठेपुल बगाएका कारण तत्काल त्यहाँ पुल निर्माणका लागि पहल गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार