बिमस्टेक सम्मेलनका कारण यातायात प्रभावित, यात्रुलाई सास्ती ‘फोटो फिचर’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बिमस्टेक सम्मेलनका कारण बिहीबार पनि बिहानैदेखि काठमाडौंको यातायात प्रभावित भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालगयातका विशिष्ट पाहुनाको सवारी हुने भएकाले एयरपोर्टदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, सोल्टीमोडसम्मको रुटमा अरु गाडी चलाउन रोक लगाइएको थियो ।

विशिष्ट पाहुनाको ओहोरदोहोर हुने बेला सडकमा पैदलयात्रीलाई समेत हिँड्न नदिदा कार्यालय समयमा हिडेकाहरु अलपत्र परेका थिए ।महाशाखाका अनुसार विदेशी पाहुना सवारी हुने सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटीदेखि सोल्टी होटलसम्मको दुईतर्फी सडक अवरुद्ध भएको थियो ।

मोदी एयरपोर्टबाट सोझै पशुपतिनाथ दर्शन गर्न जाने कार्यक्रम भएकाले केहीबेर गौशाला, चाबहिललगायत क्षेत्रको आवागमन पनि रोकिने छ ।कालीमाटीबाट त्रिपुरेश्वर आउने, माइतीघरबाट बानेश्वर–कोटेश्वर हुदै एयरपोर्ट जाने चार पाङ्गे तथा ठुला सवारी साधनलाई कलंकी, भद्रकाली, कोटेश्वर, कुपण्डोलबाटै ड्राइभर्सन गरिएको छ ।

यस्तै सिनामंगल, मुनीभैरव, कोटेश्वर, तिनकुने, बानेश्वर पानीट्याङकी, हनुमानस्थान, कुपण्डोल, सिंहदरबार, भद्रकाली, नागस्थान, बाफल, ताहाचल मोड, गौरीघाट, चुच्चेपाटी र रातोपुल बाट सबै प्रकारका सवारी साधनलाई पनि डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

डाइभर्सन गरिएका सवारी साधनले बैकल्पिक मार्ग प्रयोग गर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । चक्रपथमा र चक्रपथ भित्र प्रवेश गर्ने मालबाहक सवारी साधनलाइ आज विभिन्न स्थानबाट प्रवेशमा रोक लगाइएको थियो ।

नागढुङ्गा, थानकोट, भक्तपुर, नारायणटार, जोरपाटी लगायतका स्थानबाट सवारी साधनलाई प्रवेशमा रोक लगाइएको हो । यस्तै निजी तथा सार्वजनिक सवारी साधनलाई आज चक्रपथ प्रयोग गरि यात्रा तय गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया