बाढी र पहिरो पछि देशभरि नै उद्दार र राहतका कार्य सुरु, हेर्नुस् कहाँ कसरी हुँदैछ राहत वितरण


Share This

नेपालबहस संवाददाता    

३२ साउन, काठमाडौं । विगत केही हप्ता देखि बाढी र पहिरोका कारण देश भरिनै वितण्डा मच्चाएको छ । प्राकृतिक प्रकोप कसैको नियन्त्रण र वहसमा रहने कुरा होइन तर संभावित जोखिमलाई न्यूनिकरण गर्न भने पक्कै सकिन्छ । वाढी र पहिरोका कारण मुलुकमा बेहाल भई रहेका बेलामा सरकारले भने राहतका कार्य एकद्वार प्रणालिबाट हुने कुरा घोषण गरिसकेको छ । हेरौं यो रिपोर्ट ः घटनाक्रम कसरी अगाडि बढीरहेको छ ।

दाङमा बाढीपीडितलाई राहत वितरण शुरु
दाङका बाढीपीडितलाई विभिन्न समूहमा टोली खटाई राहत वितरण गरिएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३, लमही नगरपालिका–८ र ९ तथा दंङ्गीशरण गाउँपालिकाका विभिन्न वडामा रहेका बाढीपीडितलाई मंगलबार राहत वितरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका ३८ परिवार, दंङ्गीशरण गाउँपालिका ३८ परिवार र लमही नगरपालिका– ८ र ९ का २५ परिवारलाई राहत वितरण गरिएको हो । राहत प्रदानका क्रममा बाढीपीडितले तत्काल गाँसबासको व्यवस्थापन गर्न माग गरेका छन् । उनीहरुले आफन्त र छिमेकीको घरमा शरण लिनुपरेको भन्दै राज्यले तत्काल पुनःस्थापनामा ध्यान दिनसमेत आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले राहत वितरण गरेको हो । जिल्ला दैविक उद्धार समिति, तुलसीपुर उपमहानगरपालिकासहित विभिन्न संघ संस्थाको सहयोगमा संकलन भएको राहतस्वरुप चामल, दाल, चिउरा, नुन, तेल र त्रिपाललगायतका सामग्री प्रदान गरिएको छ । उद्धारलगत्तै अहिले तत्कालका लागि स्थानीयस्तरमा संकलन गरिएको राहत एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो प्रजिअ श्रेष्ठले बताए ।

बाढीका कारण विस्थापित परिवारमध्ये सरकारी विद्यालय, सामुदायिक वन समूहका भवनमा, केही ठाउँमा त्रिपालमा र कोही आफन्त कहाँ बसोबास गरेका छन् । दाङमा बाढीका कारण चार जनाको मृत्यु, २ जना घाइते, बाढीबाट १५३ घरघुरी विस्थापित भएका छन् । त्यसैगरी बढीबाट ११२ घर पूर्णरुपमा क्षति भएका छन् भने ३८ वटा घर आंशिक क्षति हुनुका साथै ४३१ घरबाढीबाट प्रभावित भएका छन् । यसैबीच आज बाढीपीडितका लागि उनीहरु बसोबास गरेकै स्थानमा स्वास्थ्य शिविर राखिने भएको छ ।

सप्तरीका पीडित परिवारलाई राहत वितरण
अविरल वर्षासँगै आएको बाढीका कारण डुबानमा परेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–११ स्थित इनरुवाका बाढीपीडित पाँच सय परिवारलाई आज राहत वितरण गरिएको छ । चारैतिरबाट बाढीले घेरिएका कारण घरबाट बाहिर निस्किन पनि समस्या भोगिरहेका इनरुवाका बाढीपीडित परिवालाई कारितास नेपालको सहयोगमा सप्तरीस्थित श्रीपुर्राज सामुदायिक विकास केन्द्रले प्रतिपरिवार दुई किलो चिउरा, तीन किलो भुजा, दुई प्याकेट भुजिया र १२ बोतल मिनरल वाटरका दरले राहत वितरण गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीले जानकारी दिए । गत बिहीबारदेखिको अविरल वर्षाका कारण सप्तरीको सुन्दरी खोला र महुली खोलाको बाँध भत्किएपछि आएको बाढीले उक्त गाउँका करिब पाँच सय परिवार डुबानमा परेका थिए । डुबानमा परेका स्थानीयवासी डुंगामा चढेर राहतका लागि इनरुवा चोकसम्म पुगेका थिए ।

सप्तरीका बाढीपीडितलाई विभिन्न संघसंस्थाले राहत वितरण गरेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित टिकुलिया टोलका बाढीपीडितलाई सप्तरी जिल्लाका कलाकारले मंगलबार राहत वितरण गरेका छन् । जननी फिल्म्स प्रालिद्वारा सोही ठाउँका ४५ जना बाढीपीडित परिवारलाई प्रति परिवार दुई किलो (भुजा)मुरही, एक किलो चिउरा, दुई प्याकेट चाउचाउ र दुई प्याकेट बिस्कुट उपलब्ध गराइएको बताइएको छ । नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्षसमेत रहेका जननी फिल्म्स प्रालिका प्रबन्ध निर्देशक श्यामसुन्दर यादव, प्रालिका अध्यक्ष नायिका डोली सरकार, गायिका अन्जु यादवसमेतले सो राहत वितरण गरेका हुन् ।

यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका–१ वैरवा निवासी मोहम्मद करिम शेखले व्यक्तिगततर्फबाट ६०० परिवारलाई राहत वितरण गरेको जानकारी भएको छ । उनले पीडित ६०० परिवारलाई प्रतिपरिवार चार किलो भुजा(मुरही), एक पेकेट दालमोठ, एक पेकेट नुनलगायतका सामग्री राहतको रुपमा वितरण गरेका हुन् । त्यस्तै कञ्चनरुप नगरपालिकाका निमित्त कार्यकारी अधिकृत धीरेन्द्र यादवले कञ्चनरुप नगरपालिका १, २ र ३ का दलित बस्तीका १७० घर परिवारलाई मुरही, च्यूरा वितरण गरेको बताए ।

राहत संकलनकार्य जारी
बाढी पीडितका लागि देशका विभिन्न ठाउँबाट राहत सामाग्री जम्मा हुने क्रम जारी छ । लायन्स क्लब अफ बेगनासताल नगरीले देशका विभिन्न स्थानमा बाढीका कारण पीडित बनेकाका लागि मंगलबार बेगनासताल बसपार्कका स्थानीय बासिन्दासँग र क्लबका सदस्यबाट रु ३३ हजार ५१५ राहत संकलन गरेको छ । केही दिनयता परेको अविरल वर्षाले नेपालको झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, चितवन, पर्सा, नवलपरासी, कञ्चनपुरलगायत जिल्लामा बाढी र डुबानमा परी ठूलो संख्यामा मानिसको मृत्यु, दर्जनौँ बेपत्ता भएको भन्दै पीडितका लागि राहत संकलन भएको हो । बाढीपीडितलाई केही मात्रामा भए पनि राहत पुगोस् भन्ने उद्देश्यले राहत संकलन गरिएको लायन्स क्लब अफ बेगनासताल नगरीका अध्यक्ष लायन रामचन्द्र रानाभाटले बताए ।

नवलपरासीमा राहत सामग्री वितरण
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालसहितको टोलीले नवलपरासीका बाढी प्रभावित समुदायलाई खाद्यान्न राहत सामग्री वितरण गरेको छ । सो टोलीले जिल्लाको मध्यबिन्दु, अमलटारीलगायतका बाढी प्रभावित समुदायलाई मंगलबार राहत सामग्री वितरण गरेको हो । सो क्षेत्रका करिब २२० बाढी प्रभावित घर समुदायलाई चिउरा, चाउचाउ, बिस्कुट, चिनी र पानीलगायतका राहत सामग्री वितरण गरिएको हो । राहत वितरण गरिएपछि बाढी प्रभावितले ढिलै भए पनि सरकारीस्तरबाट राहत सामग्री प्राप्त गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

पूर्व–पश्चिम राजमार्ग खुलेन
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड आज राति १० बजेसम्मका लागि बन्द गरिएको छ । दाउन्नेमा केही दिनअघि सडकको केही भाग भाँसिएको थियो । सो भाँसिएको स्थानलाई मर्मतका लागि स्थानीय प्रशासनले आज राति १० बजेसम्मलाई सवारी आवागमन ठप्प पारेको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी दाउन्ने क्षेत्रमा भाँसिएको सडक मर्मत गर्ने काम हुने हुँदा यातायातका सावारीसाधन सो क्षेत्रमा बन्द हुने जनाएको छ । दाउन्ने सडकखण्ड गत शुक्रबारदेखि नै पटकपटक अवरुद्ध हुँदै आएकोे छ ।

पर्साको बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्दै
विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको रोगको जोखिम बढ्दै गएको छ । पर्सा जिल्लाका पश्चिम क्षेत्रमा रहेको दुर्गम गाउँ मिर्जापुर, सम्झौता, जयमंगलपुर, भिश्वा, जानकिटोला, भिखमपुर, बन्जारेलगायतका गाउँका बाढीपीडित झाडापखाला, विषमज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जिउचिलाउने रोगबाट प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयमा पर्याप्त मात्रामा औषधि भएको बताउँदै प्रमुख जनस्वास्थ्य अधिकृत राजकिशोर पण्डितले तर बाढीको कारण बाटोघाटो कटानमा परेकाले यातायातको असुविधाको कारण दुर्गम गाउँमा भने औषधि पठाउन नसकिएको बताए । औषधि लिन जिल्ला जनस्वास्थ्य कार्यालय आएका जयमंगलपुर स्वास्थ्य चौकीका इन्चार्ज रामईश्वर रामले भिष्वा, सम्झौता, मिर्जापुर, पकहामैनुरजस्ता दुर्गम गाउँमा औषधिको अभाव रहेको र उक्त ठाउँमा समयमै औषधि नपाए महामारी फैलिन सकिने नेपाल बहसललाई बताए ।

पर्सा जिल्लाको पश्चिमी भेगमा रहेको कतिपय गाउँ विकट क्षेत्रमा रहेको र सो ठाउँमा औषधि पुग्न नसकिने भए पनि हामीले रोगबारे खबर प्राप्त हुन साथ पायक पर्ने ठाउँमा औषधिसहितको टोली पठाउने गरेको जनस्वास्थ्य अधिकृत अमलेश्वर मिश्रले उल्लेख गरे ।

विभिन्न रोग फैलिएका कतिपय गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र चिकित्सक देखा नपरेको र औषधिसमेत अभाव रहेकाले बाढीपीडित बिरामीले उपचार पाउन नसकेको गुनासो बढ्दै गएको छ । कतिपय ठाउँमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । बाढीपीडित बासिन्दा खुला आकाशमुनि बस्न बाध्य भएकाले महिला, बालबालिका तथा वृद्धवृद्धा विभिन्न रोगको शिकार हुँदै आएका छन् ।

बाढीको कारण ग्रामीण क्षेत्रका सडक क्षतिग्रस्त भएकाले आवतजावत गर्न समस्या भएकाले बिरामी सदरमुकामसम्म आउन नसक्दा उनीहरु झन सिकिस्त पर्न थालेका छन् । कतिपय गाउँमा रहेका स्वास्थ्य चौकी डुबानमा परेकाले त्यहाँ रहेका औषधिसमेत नष्ट भएकाले रोग फैलिन नदिन दुर्गम गाउँमा समेत जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि उपलब्ध गराउनुपर्ने माग बाढीपीडितको छ ।

इटहरीमा हैजाको खतरा
अविरल वर्षापछि आएको बाढीले इटहरी उपमहानगरपालिका–४, ९ र १० मा ठूलो जनधनको नोक्सानी भएको छ । ती क्षेत्रमा ठूलो संख्यामा पशुपक्षीसमेत मरेकाले घाम लाग्नासाथ बूढीखोला क्षेत्रमा ब्यापकरुपमा दुगन्ध फैलिएको छ । त्यो क्षेत्रमा उद्धार र मानवीय सेवाका लागि त्यहाँ पुगेका सेवाग्राहीमा समेत हैजाको त्रास देखिएको छ । सबैभन्दा बढी नोक्सानी भएको इटहरीको यो क्षेत्रमा नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै विभिन्न राजनीतिक दल सामाजिक सङ्गघ संस्थालगायतले पुरिएका र भत्किँएका घरको उत्खनन गर्ने कार्यमा संलग्न मानिसमा पनि हैजाको संक्रमण फैलन सक्ने अवस्था रहेको छ ।

इटहरीको बूढीखोला किनारमा मात्र झण्डै दुई हजार मानिस विस्थापित भएका र ती सबै अहिले इटहरी उपमहानगरपालिका क्षेत्रका मन्दिर, विद्यालय एवं अन्य स्थानमा आपत्कालीन शरणमा बसेका पीडितमा स्वास्थ्य समस्या देखिएको छ । त्यहाँ अत्यावश्यक औषधि आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन् । बूढीखोला पूर्व र पश्चिमपट्टिको मानव बस्तीमा बाढीमा परेर कति चौपाया बगेर बेपत्ता भए वा पुरिए भन्ने अझै पनि तथ्यांक सार्वजनिक भएको छैन । ती बस्तीका घरपालुवा गाईभैँसी बाख्रा सुगुरसमेत धेरै बाढीको लेदोमा पुरिएको तथा बाढीमा परेर बेपत्ता भएका मानिसको समेत शव फेला नपरेकाले त्यो क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।
बाढीबाट विस्थापित परिवारका घर तत्काल बसोवास गर्नसक्ने अवस्थामा नरहेकाले तिनको मर्मत र पुनःनिर्माण गर्ने कार्यमा करोडाँै लाग्नसक्ने अनुमान गरिएको छ । बाढीग्रस्त क्षेत्रमा पिउने पानी व्यवस्थापन वा सहयोग गरिदिन बाढी प्रभावितले आग्रह गरेका छन् ।

वीरगंजबाट हेलिकप्टरमा राहत सामग्रही ढुवानी
मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ । मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका लागि मंगलबार वीरगंजबाट– ९ हजार किलो राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लास्थित दैवीकप्रकोप उद्धार समितिले वीरगंजबाट संकलन गरेको राहत सामग्रीलाई हेलिकप्टरबाट ढुवानी गरी पर्सा, रौतहट र सर्लाही जिल्लाका बाढीपीडितसम्म पु¥याएको हो । एक सातादेखि ढुवानको समस्या खेपिरहेकामध्ये तराईका बाढिपीडितलाई राहत सामग्री चाडो भन्दा चाडो उपलब्ध गराउने सरकारको निर्देशनअनुसार वीरगंजलाई आधार बनाइ संकलित राहत तथा उद्धार सामग्रीलाई प्रभावित क्षेत्रसम्म पु¥याउन तीनवटा हेलिकप्टरको प्रयोग गरिएको छ ।

बाढीपीडितकालागि वीरगंजबाट संकलित दाल, चामल, खानेपानी, चिउरा, चाउचाउ, दालमोठ, भुजिया, पाल र खाना पकाउने भाँडा गरी नौ हजार किलो सामग्री बाढी प्रभावित क्षेत्रमा पु¥याएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए । उनले वीरगंजको बरख गणमा रहेको हेलिप्याडबाट बुधबार राहत सामग्री राखी तीन वटा हेलिकप्टरले नौ पटक उडान भरेको बताए । ती राहत सामग्री पर्साको ठोरी, रौतहटको समानपुर, मौलापुर र सर्लाहीको खैराहवा र छनौटामा पु¥याइएको छ ।

दैवी प्रकोप उद्धार समितिले वीरगञ्जबाट २५ हजार किलो राहत सामाग्री संकलन गरेकामा नौं हजार किलो सामग्री पु¥याए पनि बाँकिरहेका १६ हजार किलोराहत सामग्री आज बिहानैबाट आवश्यक स्थानमा पु¥याइने सहायक प्रजिअ पौडेलले नेपाल बहसलाई बताए ।

पूर्वाञ्चलमा ४७ जनाको मृत्यु
पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४७ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् । आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा १२ जना, सप्तरीमा एकजना, उदयपुरमा दुईजना गरी ४३ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोले गर्दा पाँचथरमा दुई र इलाममा एक गरी तीनजनाको पनि मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

त्यस्तै, बाढी पहिरोमा परेर पाँचथरमा तीनजना, झापामा दुईजना, मोरङमा चारजना, सप्तरीमा एक गरी १५ जना बेपत्ता रहेको छ, भने बाढी पहिरोमा परेर मोरङमा तीनजना र सप्तरी र सुनसरीमा एक÷एक जना घाइते भएका छन् । बाढी पहिरोका कारण ती जिल्लामा ३८९ वटा घर पूर्णरुपले क्षति भएको, ३६३ वटा चौंपाया र दुई हजार २७५ वटा हाँस, कुखुरा मरेको सो कार्यालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पूर्वक्षेत्रीय तालीम केन्द्र, क्षेत्रीय सशस्त्र प्रहरी गण, दङ्गा नियन्त्रण प्रहरी गणका साथै सम्बन्धित जिल्ला र स्थानीय प्रहरी इकाइ गरी चार हजार पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । विस्थापित परिवारलाई स्थानीय विद्यालय, मन्दिर र सङ्घसंस्थाको सार्वजनिक भवन राखिएको पीडित परिवारलाई स्थानीय समाजसेवी र विभिन्न सङ्घसंस्थाबाट राहत वितरणलगायतका कार्य भइरहेको छ ।

झापामा बाढीले थप एकको मृत्यु, अझै चारजना वेपत्ता
झापामा बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । कन्काई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ की १७ वर्षीया निमा तामाङको मृत्यु भएको हो । योसँगै झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । बेपत्ता भएका चारजना अझै सम्पर्कमा आउन नसकेको कार्यालयले जनाएको छ । रेडक्रस झापाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार जिल्लाका १३ स्थानीय तहका दुई हजार ५२४ परिवार प्रभावित भएका छन् भने दुई हजार ४४४ परिवार विस्थापित भएका छन् । यहाँका १२१ घर पूर्णरुपमा क्षति भएका छन् । हालसम्म बाढीपीडितलाई केही त्रिपाल, कम्बल, झुल, म्याट र भाँडावर्तन उपलब्ध गराइएको रेडक्रस झापाका अभिषेक पोखरेलले जानकारी दिए ।
कञ्चनपुरमा एक व्यक्ति मृत फेला
सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवा टोलमा एक जना आज मृत फेला परेका छन् । स्थानीय ३२ वर्षीय धर्मेन्द्र मुखिया आफ्नै घरमा सुतिरहेको स्थानमा मृत फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राजनीतिक दलको राहत
त्यस्तै सप्तरीको कृष्णा सवरण गाउँपालिका–५ स्थित कहर्वामा संघीय समाजवादी फोरम नेपालद्वारा ३० घर बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, पूर्व जिल्ला सदस्य एवं कृष्णा सवरण गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरिनन्दन साह, पूर्व जिल्ला सदस्य विजय चौधरी, वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार अभिनन्दन यादवलगायतकाले त्रिपाल, भुजालगायतका राहत सामग्री वितरण गरे ।

यसैगरी रुपनी गाउँपालिका–६ ले तेरहौताका १३० घर र वडा नम्बर ५ को वडा कार्यालय र ड्रिम नेपालको संयुक्त सहयोगमा बसबिट्टीका १०० घर बाढीपीडितलाई मंगलबार राहत सामग्री वितरण गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State