fbpx

यस्ती पनि बुहारी ! हँसियाले हानेर सासुको हत्या



नेपालबहस संवाददाता
 




दाङ । सासूलाई बोक्सीको आरोप लगाएर हत्या गर्ने एक महिला पक्राउ परेकी छन । इलाका प्रहरी कार्यालय तुलसीपुरले सासुको हत्या गरी फरार भएकी टंकी राउत पक्राउ परेकी हुन । दङ्गीशरण गाउँपालिका वडा नं ३ की ६९ वर्षीया खोपी रावतलाई हत्या गरी फरार रहेकी बुहारी टङ्कीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

गत भदौ २ गते झारफुक गराउन भनी घरबाट सल्यानको कपुरकोट पुगेका सासूबुहारी भोलिपल्टसमेत घर नफर्केको र उनीहरुको साथमा रहेको मोबाइ स्वीच अफ भएको भन्दै परिवारका सदस्यले इलाका प्रहरी कार्यालय तुलसीपुरमा खोजतलासका लागि जाहेरी दर्ता गराएका थिए ।

सोहीअनुरुप प्रहरीले खोजतलाश तथा अनुसन्धानलाई तीव्र पारेको थियो । अनुसन्धानका क्रममा शुक्रबार बिहान सल्यानको कपुरकोट गाउँपालिका वडा नं २ को शिव मन्दिर सामुदायिक वनको भकमको भिर जङ्गलमा खोपी रावतको शव फेला परेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

उनका अनुसार शवको प्रकृति हेर्दा निजलाई कोही कसैले कर्तव्य गरी मारेको हुनसक्ने आशंका गरेको थियो । ४० वर्षीय टङ्कीमाथि शङ्का गरी खोजतलाश गर्दा उनी कपिलवस्तु जिल्लाको कृष्ण नगरमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकी टङ्कीले आफूले सासूको लाँठी र हसियाँ प्रहार गरी गत भदौ ५ गते हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् । उनले प्रहरीसमक्ष आफू सधै लगातार बिरामी परिरहने र सोही क्रममा धामीझाँक्री कहाँ जारफुक गराउन जाँदा सासू नै बोक्सी रहेको र निको नहुने बताएपछि आफूले योजना बनाएर हत्या गरी फरार रहेको बताएकी हुन् ।

पक्राउ परेकी टङ्कीलाई घटनास्थल सल्यान जिल्लामा पर्ने भएकाले कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सल्यानमा पठाइएको छ ।