कांग्रेस कमजोर भयो ! नेताहरु देउवामाथि खनिए



नेपालबहस संवाददाता
 




बनेपा । पूर्वसभामुख एवं नेपाली काङ्ग्रेसका नेता दमननाथ ढुङ्गानाले प्रजातान्त्रिक विचारको कमी भएकाले नेपाली काङ्ग्रेस पार्टी कमजोर भएको बताएका छन ।

प्रजातान्त्रिक विचार समाज र कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘सन्तपुरुष कृष्णप्रसाद भट्टराई स्मृति सभा’ उनले पछिल्लो चरणको नेतृत्व मूल्य, मान्यता, सिद्धान्त र विचारमा भन्दा पनि आफ्नो निकटकालाई साथमा लिएर हिँडेकाले पार्टी जनताबाट पछि परेको बताए ।

काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन गुट उपगुट र विभाजित मानसिकताबाट टाढा रहनुपर्नेमा जोड दिए । उनले निर्वाचनमा पार्टी हार्नुमा पहिलो जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने र त्यसपछि पदीय हिसाबले सबैले लिनुपर्ने बताए ।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष केदारनरसिंह केसीले कृष्णप्रसाद भट्टराईको सिद्धान्त अवलम्बन गरेमा मात्रै प्रजातान्त्रिक विचार बाँच्न सक्ने बताए ।