होङ्सी शिवम् सिमेन्टमा ५ बैंकहरुले गरे १६ अर्ब ऋण लगानी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । होङ्सी शिवम् सिमेन्टमा वाणिज्य बैंकहरुले ऋण लगानी गर्ने सम्बन्धमा आज सम्झौता भएको छ । पाँचवटा बैंकले पहिलो चरणमा १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । ३६ अर्ब रुपैयाँको लगानीमा खुलेको सिमेण्ट उद्योगका लागि २ चिनीयाँ बैंक नेपाली बैंकका लागि बैंक ग्यारेण्टीमा बसेका छन् ।

एनएमबि बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल एसबिआर्इ बैंकले सह–वित्तीयकरणमा ऋण लगानी गर्ने सम्झौता भएको हो । यो ऋण सम्झौता सात वर्षका लागि गरिएको हो ।

नेपालको शिवम् सिमेन्ट र चीनको होङ्सी सिमेन्टको संयुक्त लगानीमा सञ्चालनमा आएको होङसी शिवम् सिमेन्टलाई नेपाली बैंकले ऋण उपलब्ध गराउँदै गर्दा चीनका २ बैंकहरु ग्यारेन्टी बसेका छन् । चीनको बैंक अफ चाइना र नेमसिङ बैंकको ग्यारेन्टीमा नेपाली बैंकहरुले ऋण लगानी गर्न लागेका हुन् । एनएमबि बैंक होङ्सी शिवम् सिमेन्टको सेक्युरिटिज एजेन्टको रुपमा रहेको छ ।

३० प्रतिशत स्वदेशी तथा ७० प्रतिशत चिनीयाँ लगानीमा होङ्सी शिवम् सिमेन्ट सञ्चानलनमा आईसकेको छ । जसमा शिवम् सिमेन्टको ११ अर्ब ४ करोड रुपैयाँ तथा होङ्सी सिमेन्टको २५ अर्ब हिस्सा रहने जानकारी दिइएको छ । समाचार स्रोतका अनुसार चीनबाट लगानी ल्याएर काम गर्दै आएको होङ्सी शिवमले एनएमबि र प्रभु बैंकबाट एक अर्ब रुपैयाँ ऋण रकम लगिसकेका छन् । कम्पनीले पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने कार्यक्रममा जानकारी दिइयो ।

नेपाल र चीनका व्यवसायीको संयुक्त लगानी रहेको होङ्सी शिवम् सिमेण्ट उद्योगको निर्माण तोकिएको समयभन्दा अघि नै पूरा भएको छ । नवलपरासीको बेनामणिपुरस्थित सर्दीमा बनिरहेको सो उद्योग देशकै ठूलो सिमेण्ट उद्योग हो ।

चिनियाँ मोडलमा काम गर्दा कति छिटो काम हुन्छ भन्ने उदाहरण होङ्सी शिवम् सिमेण्टको निर्माणको अवस्था हेरेर बुझ्न सकिने भएको छ । यस उद्योगको निर्माण शुरू भएको दिनदेखि १ दिन पनि काम नरोकिएको कम्पनीले जनाएको छ । उद्योगका सबै युनिटको निर्माण एकैपटक थालिएको थियो । थर्मल प्लाण्ट, ग्राइण्डिङ, क्लिङ्कर तथा सिमेण्ट भण्डारण, लोडिङ, आवास भवनलगायत सबै युनिटको काम द्रुतगतिमा अघि बढाइएको थियो । कामदारका अलावा उद्योग निर्माणमा ठूलाठूला अत्याधुनिक मेशिन पनि प्रयोग गरिएका थिए ।

विविध समस्या हुँदाहुँदै पनि उद्योगको सबै पूर्वाधार १ वर्षमै सम्पन्न हुनु उदाहरणीय भएको उपमहाप्रबन्धक गौरव गोयलको अनुभव छ । २०१७ को मार्चमा निर्माण शुरू भएको होङ्सी शिवम् सिमेन्टको निर्माण कार्य सम्पन्न भएको छ । कारखाना स्थापनाका लागि कम्पनीले ७६ हेक्टर जमीन खरीद गरेको थियो ।

चीनको होङ्सी ग्रूप र नेपालको गोयल, लक्की र शारदा ग्रूपको संयुक्त लगानी रहेको ‘होङ्सी शिवम् सिमेण्ट प्रालि’ले यसअघि नै लगानीको स्वीकृति लिएर उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको थियो ।

यसमा होङ्सी सिमेण्ट ग्रूपपको सहायक कम्पनी हङकङ रेडलायन सिमेण्ट लिमिटेडको ७० प्रतिशत लगानी रहेको छ । बाँकी ३० प्रतिशत लगानी भने नेपालका गोयल, शारडा र लक्की ग्रूपले स्थापना गरेको शिवम् होल्डिङको रहेको छ ।

देशभित्रको मागलाई पूर्ति गरेपछि देश बाहिर पनि पठाउने योजना कम्पनीले बनाएको छ । शुरुको वर्ष ६ हजार मेट्रिक टन उत्पादन भएपनि दोस्रो चरणबाट १२ हजार मेट्रिक टन दैनिक सिमेण्ट उत्पादन हुने कम्पनीले जनाएको छ । पछिल्ला दिनहरुमा यस कम्पनीबाट उत्पादित सिमेन्टले आफ्नो बजार विस्तार गदै गएको छ भने भारतबाट आयात हुने सिमेन्टमा क्रमश कमी भइरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार