बलात्कारीलाई कडा सजाय दिन सांसदको बल !


Share This

नेपालबहस संवाददाता    

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाबाट तीनवटा विधेयक सर्वसम्मत पारित भएको छ । अघिल्लो बैठकले दफावार छलफलका लागि विधेयक समितिमा पठाएको विधेयक बसेको प्रदेशसभाको बैठकले सर्वसम्मत पारित गरेको हो ।

बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले निर्णयार्थ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रदेश प्रदेशसभा सचिवालय व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश विपद् व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ लाई प्रदेशसभाले सर्वसम्मत पारित गरेको छ ।

त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा निर्णयार्थ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रदेश दुग्ध विकास बोर्डको स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ लाई पनि सर्वसम्मत पारित भएको छ ।

बलात्कारको विरोध

प्रदेश नं ३ को प्रदेशसभाको विशेष समयमा बोल्ने क्रममा अधिकांश सांसदले बढ्दै गएको बलात्कार जस्तो जघन्य अपराधको विरोध गरेका छन् । विशेष समयमा बोल्ने अधिकांश सांसदले बलात्कारीलाई कडा कारवाही हुनुपर्नेमा जोड दिएका थिए ।

सांसद रजनी अमात्य, रीना गुरुङ, कल्पना नेपाली, प्रेमबहादुर तामाङ, रीता माझी, शोभा शाक्य, लालकुमारी पुन, सुरेन्द्रराज गोसाई र बलराम पौडेलले महिला तथा बालिकाको सुरक्षामा गम्भीर हुँदै बलात्कारजस्ता घटना हुन नदिन र पीडितलाई न्याय दिन सरकारलाई ध्यानाकर्षण गराए ।

त्यसैगरी सांसद राजेन्द्र पाण्डेले सरकारका धेरै काम सञ्चालन गर्न ऐन बनाउन ढिलाइ भएको भन्दै सांसदले संसद्मा दिएको समय थोरै भएको बताए ।

बैठकमा सांसद जगतबहादुर सिम्खडा, रामकाजी महर्जन, भीमसेन खत्री, सन्तबहादुर प्रजा, राजेन्द्रमान श्रेष्ठ, ओमबहादुर घलान, चेतनाथ सञ्जेल र केशवराज पाण्डेले बोलेका थिए ।

तपाईको प्रतिक्रिया