आइजिपी सर्वेन्द्र खनाल कञ्चनपुरमा, भन्छन – ‘निर्मलाका हत्यारा प्रहरी नै भएपनि छाड्दैनौ’


Share This

नेपालबहस संवाददाता    

महेन्द्रनगर । बलात्कारपछि हत्या भएकी १३ बर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन नेपाल प्रहरीका महानिरीक्षक आइजिपी सर्वेन्द्र खनाल महेन्द्रनगर पुगेका छन ।

घटना भएको डेढ महिना बितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेपछि आइजिपी खनाल आफै महेन्द्रनगर पुगेका हुन । गृह मन्त्रालयको छानबिन टोली र दुईवटा सिआइबीको टोली समेत अनुसन्धानमा असफल देखिएपछि आइजिपी आफै घटनास्थल पुगेका छन । उनी एक कार्यक्रमका क्रममा महेन्द्रनगर पुग्दा यो घटनालाई पनि नजिकबाट नियालेका छन ।

निर्मलाकाे बलात्कार प्रकरणमा प्रधानन्त्री केपी शर्मा ओली सरकार समेत आलोचित बन्दै गएपछि नेपाल प्रहरीमाथि दबाब बढेको छ । बिहीबार कञ्चनपुर ओर्लिएका खनालले मृतक बालिका निर्मला पन्तको परिवारसँग भेट गरेका छन ।

भेटका क्रममा उनले हत्यारालाई पक्राउ गरिछाड्ने बचन समेत दिएका छन । सिआइबीको टोली र कञ्चनपुर प्रहरीले पुरानै प्रायोजित व्यक्ति दिलिपसिंह बिष्टलाई पुनः अभियुक्त करार गर्न लागेपछि आइजिपी खनाल हतार हतार कञ्चनपुर पुगेका हुन ।

निर्मला बलात्कार प्रकरणमा प्रहरीको अनुसन्धान दोश्रो पटक पनि फेल खाएपछि बिहीबार नै राष्ट्रिय मानवअधिकार आयोगले पत्रकार सम्मेलन गरेर अनुसन्धानमा गम्भिर लापरबाही भएको बताएको थियो ।

आयोगकी प्रवक्ता मोहना अन्सारीले वास्तविक दोषीलाई उम्काएर प्रहरीले पनि नक्कली अभियुक्त र रिर्पोट सार्वजनिक लागेको भन्दै प्रहरीको अनुसन्धान प्रति आपत्ति जनाएकी थिइन । प्रहरीको पुरानै रबैया दोहोरिने र फेरी कञ्चनपुरमा आन्दोलन चर्किन सक्ने कुराको गम्भिर ख्याल गर्दै आइजिपी खनाल आफैले घटनास्थलको अवलोकन गरेका हुन् ।

आइजिपीसँगको भेटमा निर्मलाकी आमा दुर्गादेवीले घट्ना भएको ४३ औं दिन बित्दा पनि आफुले न्याय नपाएको बताएकी थिइन । उनले आफ्नो छोरीको बलात्कारमा प्रहरीकै सलंग्नता रहेको कुरा पनि आइजिपीलाई भनेकी थिइन ।

त्यसको जवाफमा आईजीपी खनालले निर्मलाको बलात्कार र हत्यामा प्रहरी नै भएपनि नछाडिने प्रतिबद्धता गरेका थिए । यस्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीसहित पन्तको परिवार भेट्न पुगेका आईजीपीको टोलीले निर्मलाको शव भेटिएको ठाउँको पनि निरीक्षण गरेको छ।

राष्ट्रिय मानवअधिकार आयोगले सुरु गर्न लागेको ‘महिला हिंसा न्यूनीकरण एवं मानव अधिकार संरक्षणमा नेपाल प्रहरीको भूमिका विषयक राष्ट्रिय अभियान’ मा सहभागी हुन आईजीपी खनाल महेन्द्रनगर पुगेका हुन ।

यसको उद्घाटन आइजिपी खनाल र आयोगका अध्यक्ष अनुपराज शर्माले गर्नेछन । यसक्रममा उनले घटनाको वस्तुस्थिती बुझेका हुन । आयोगको अभियान शुक्रबारदेखि कञ्चनपुरबाट शुरु हुदैछ ।

तपाईको प्रतिक्रिया