fbpx

नयाँ एेनमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै आज पत्रकार महासंघले प्रदर्शन गर्ने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल पत्रकार महासंघले यही भाद्र १ गतेबाट लागू भएको मुलुकी ‘फौजदारी’ संहिता २०७४, मुलुकी ‘देवानी’ संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्थाका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्दै अंकुश लगाउने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग राख्दै केन्द्र, प्रदेश र जिल्लास्तरमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सोही अनुसार आज दिउँसो साढे २ बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि सञ्चार साधनहरुसहित सांकेतिक विरोध प्रदर्शन गरिने नेपाल पत्रकार महासंघले जानकारी दिएको छ ।

महासंघले उक्त दबाबमुलक कार्यक्रममा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई आ–आफ्नो सञ्चार सामग्रीसहित सक्रिय सहभागिताका लागि अनुरोध गरेको महासचिव रमेश विष्टले जानकारी दिएका छन् ।

यसैबिच भाद्र १ गतेबाट लागू भएको मुलुकी ‘देवानी र फौजदारी’ संहिता ऐन २०७४ मा व्यवस्था भएका केही बुँदाहरु तत्काल संशोधनको माग गर्दै नेपाल पत्रकार महासंघले बुधबार देशभर ज्ञापनपत्र बुझाएको छ ।

ऐनमा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग गर्दै केन्द्र, प्रदेश र जिल्लामा ज्ञापनपत्र बुझाएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेतृत्व गरेको प्रतिनिधिमण्डलले केन्द्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई ज्ञापनपत्र बुझायो भने महासंघका प्रदेश र जिल्ला अध्यक्षको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रदेशमा प्रदेश सरकार र जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।

तपाईको प्रतिक्रिया