प्रम देउवालाई भेट्न मोदीलाई भयो हतारा, भ्रमण तालिका अगावै दुवै प्रधानमन्त्रीको ‘जुम्लाह हात’


Share This

नेपालबहस संवाददाता    

७ भदौ, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

उनीहरुबीच भएको यस भेटलाई भोलि हुने औपचारिक भेटघाट र वार्ताको पूर्व तयारीका रुपमा लिइएको छ ।

अनौपचारिक रुपमा भएको उक्त भेटवार्तालाई प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई भारतले दिएको महत्वका रुपमा हेर्न सकिने प्रधानमन्त्री देउवाका विदेश मामिलासम्बन्धी सल्लाहकार डा दिनेश भट्टराईले बताए ।

उनले भने, “यो शिष्टाचार भेट हो र यसले मित्रताको अभिव्यक्ति तथा सद्भावनालाई दर्शाएको छ ।”

नेपाली दूतावासमा प्रधानमन्त्री देउवाको सम्मानमा गरिएको स्वागत समारोहपछि आज साँझ दुई प्रधानमन्त्रीबीच भारतीय प्रधानमन्त्रीको निवास रेशकोर्स रोडमा सो भेटवार्ता भएको हो ।

उनीहरुबीच भोलि बिहीबार नयाँ दिल्लीको हैदरावाद भवनमा औपचारिक भेट र द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । त्यसलगत्तै संयुक्त प्रेस वक्तव्य पनि जारी गरिने कार्यक्रम रहेको छ ।

भोलि नै प्रधानमन्त्री देउवाको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने विशेष समारोहमा भारत सरकारले ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ ।

नेपालमा लगानीका लागि प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवाले आज साँझ भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “हामी नेपालमा लगानीका लागि स्वागत गर्छौं, नेपालमा आउनुस्, लगानी गर्नुस्, रोजगारीका अवसरहरु सिर्जना गर्नुस् र उद्यमशीलताका नयाँ आयामहरुको निर्माण गर्नुस् ।”

नेपालले ठूलो मात्रामा वैदेशिक लगानीका लागि कानूनी व्यवस्था गरेको उल्लेख गर्दै लगानी बोर्डको माध्यमबाट अरुण तेस्रो र माथिल्लो कर्णालीजस्ता ठूला आयोजनाहरुको सफल शुरुवात गर्नाका साथै हालै नेपालमा लगानी सम्मेलनको आयोजना गरी करिब १४ अर्ब अमेरिकी डलर बराबरको लगानीको प्रतिबद्धता प्राप्त हुनु पनि नेपालमा लगानीका लागि देखिएको सकारात्मक वातावरण भएको उनले बताए ।

नेपालमा पछिल्ला राजनीतिक परिवर्तनसँगै राजनीतिक स्थिरता प्राप्त भएको, नयाँ संविधान लागू भएसँगै देश अब समृद्धिको मार्गमा अघि बढेकाले लगानीको वातावरण बनेको पनि उनले स्पष्ट गरे।

प्रधानमन्त्री देउवाले भारत र चीनजस्ता विश्वका ठूला अर्थतन्त्रको एक छिमेकीका रुपमा रहेको नेपाल पर्यटन, व्यापार, लगानीजस्ता क्षेत्रका लागि दरिलो सम्भावना भएको देशका रुपमा रहेको उल्लेख गर्दै यसका लागि बढीभन्दा बढी मात्रामा वैदेशिक लगानी भित्र्याउन के कस्तो वातावरण बनाउनुपर्छ त्यसका लागि नेपाल सरकार तयार रहेको पनि प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले आफू करिब २० वर्षअघि प्रधानमन्त्री हुँदा हाल भारतले शुरु गरेको जिएसटी कर प्रणालीजस्तै भ्याट कर प्रणाली नेपालमा लागू गरेको स्मरण गर्दै हाल नेपालले आर्थिक विकास र सुधारको नयाँ अभियान शुरु गरिसकेको जानकारी गराए ।

उनले भने, “वैदेशिक लगानी, सार्वजनिक निजी साझेदारी, विशेष आर्थिक क्षेत्रको विकास, औद्योगिक विस्तार, श्रम, बैैंकिङजस्ता कैयौँ क्षेत्रका लागि आवश्यक नीति र कानूनी सुधारका काम गरिएको छ जसले नेपालमा लगानीका लागि आवश्यक वातावरण निर्माणमा सघाउ पु¥याउने छ ।”

सो कार्यक्रममा भारतको पेट्रोलियम र प्राकृतिक ग्याससम्बन्धी राज्यमन्त्री धर्मेन्द्र देवेन्द्र प्रधानले नेपालले सुरक्षा दिन सक्ने हो भने नेपालको साझेदारीमा भारतले ग्यासको पाइपलाइन बिच्छ्याउने र यसले दुवै देशको हित गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले नेपालमा लगानीको वातावरण बन्दै गएको र नेपाल सरकारले निजी क्षेत्रको विकासका लागि आवश्यक नीति र वातावरण पनि बनाएको भन्दै नेपालमा संयुक्त लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरिन् ।

यस्तो छ नयाँ दिल्ली भ्रमण तालिका

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज बिहान दिल्लीतर्फ प्रस्थान गरेका थिए ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री देउवाको बिदाइका लागि मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि विमानस्थल पुगेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको उडानबाट त्यसतर्फ गएका हुन् ।

परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार आज नयाँ दिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एसोसिएटेड चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीज अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई आजै सम्बोधन गरेका छन् ।

भ्रमण तालिका अनुसार भोली बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नेछन् । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवासँग बिहीबारै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्नेछिन् भने त्यसलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता हुनेछ ।

दुई देशका सरकार प्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ ।

दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन् ।

सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

त्यसैगरी, नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री देउवासँग भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतको राजकीय भ्रमण पूरा गरेर उनी यही भदौ ११ गते स्वदेश र्फकने छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार