५० वडा सचिवविहिन, जनता सेवा सुविधाबाट बञ्चित !


Share This

नेपालबहस संवाददाता    

बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् ।

स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ । बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा निकै समस्या भएको छ ।

दशवटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिए । वडा कार्यालयमा सचिव नहुँदा वडाबाट दिने सेवा प्रभावित भएका छन् ।

उनले भने, “वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन् ।” पञ्चेश्वर गाउँपालिका ६ वडामध्ये चारवटा सचिव नभएका गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

यस्तै मेलौली नगरपालिकाका नौवटा वडामध्ये छ वडामा सचिव नभएका नगरपालिकाका उपप्रमुख राधा ओझाले बताए । वडामा सचिव नहुँदा नागरिकले चाहेअनुसारको सेवा पाएका छैनन् उनले भने, “सचिव नहुँदा वडा कार्यालयले प्रदान गर्ने सेवा जनताले सहज तरीकाले पाउन मुस्किल भएको छ ।”

यसैगरी पुर्चौंडी नगरपालिकाका–१० वडामध्ये ९ वडामा सचिव नभएका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले जानकारी दिए ।

उनले भने, “वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्” यसैगरी पाटन नगरपालिकामा पनि १० वडामध्ये पाँच वडामा सचिव नभएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया