कांग्रेसले भन्यो – ‘तरुण दलका नेताको हत्या हुँदा प्रहरीले हेरी राख्यो’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । रोल्पामा आइतबार लिवाङ्ग नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष रोहित पुनको हत्यामा प्रहरी मुकदर्शक भएको कांग्रेसले बताएको छ ।

पुनलाई सुनिल स्मृति गाउँपालिकाको सुलिचौरमा आज गोली हानी हत्या गरिएकोमा नेपाली कांग्रेसले भर्त्सना गरेको छ । मुख्य सचिव कृष्ण प्रसाद आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा पुनको गोली हानी हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

साथै यस्ता आपराधिक क्रियाकलापको नेपाली कांग्रेसले घोर भर्त्सना र निन्दा गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट घटनास्थल १५ मिटरको दूरीमा रहेको र हत्याराले गोली हान्दा प्रहरी मुकदर्शक भई बस्नु र तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद रहेको पनि उल्लेख छ ।

साथै, यस्ता आपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडाभन्दा कडा कार्वाही गर्न नेपाल सरकारसँग नेपाली कांग्रेसले माग पनि गरेको छ ।

तपाईको प्रतिक्रिया