टीकापुर घटनाका साक्षीको बयान शुरु, छुटलान त रेशम चौधरी ?



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी । झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरुको कैलाली जिल्ला अदालतमा बकपत्र लिने काम आइतबारबाट शुरु भएको छ ।

आज तीन जना साक्षीको बकपत्र लिइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए । यो मुद्दामा ८२ जनासँग बकपत्र लिनुपर्ने र बिदाको दिनबाहेक मुद्दाको विषयमा निरन्तर काम अघि बढ्न लागेको कठायतले बताए।

यसअघि पहिलो पटक गएको साउन ३० गते तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश अदालतले दिएको थियो ।

कैलाली जिल्ला अदालतका न्यायधीश पर्शुराम भट्टराईको इजलासमा टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको हो । अदालतमा उक्त मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएपछि सर्वसाधारणको चासोसमेत बढेको छ ।

टीकापुरमा भएको घटनासँग सम्बन्धित मुद्दा सरकारवादी फौजदारी हो । यही भदौ ७ गते टीकापुर घटना भएको तीन वर्ष पुगेर चौथो वर्ष लागेको छ ।

घटनाका अभियुक्तमध्य २३ जना पुर्पक्षका लागि कैलाली कारागारमा रहेकोमा एक जना रेशमलाल चौधरी केन्द्रीय कारागारमा रहेका छन् । अभियुक्तका आश्रित दुई बालकलाई पोखराको बाल सुधार गृहमा राखिएको छ ।

टीकापुर घटनाका ५८ जना अभियुक्त रहेकोमा २२ जना अझै फरार रहेका छन् । थरुहट/थारुवान राज्यको माग गर्दै भएको आन्दोलनको क्रममा विसं २०७२ भदौ ७ गते भएको झडप र हिंसामा परी एक नाबालक र सात प्रहरीको ज्यान गएको थियो ।

बयान शुरु भएपछि प्रतिनिधिसभाका सांसद समेत भइसकेका रेशम चौधरीका बारेमा चर्चा शुरु भएको छ । आरोपितले अरुकै योजनामा घटना भएको बयान दिएको खण्डमा रेशम चौधरी भने छुट्ने सम्भावना छ ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •