fbpx

मिश्रको संसदीय सुनुवाइ आज


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशीलाई अस्वीकृत गरेको संसदीय सुनुवाइ समितिले ओमप्रकाश मिश्रको कस्तो निर्णय गर्ला त भनेर सबैले चासोका साथ हेरेका छन् ।

आइतबार मिश्रविरुद्ध उजुरी दर्ता गर्नेसँग छलफल गरेको सुनुवाइ समितिले आज परेका उजुरीबारे मिश्रसँग जवाफ माग्न लागेको हो । संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइका लागि ९ बजे बैठक बोलाएको जनाएको छ ।

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि ७ भदौमा बसेको परिषद् बैठकले मिश्रको नाम सिफारिस गरेको थियो ।

मिश्र सिफारिस भएसँगै सुनुवाइ समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । मिश्रविरुद्ध सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा आफ्ना नातेदारको पक्षमा पर्ने गरी फैसला गरेको, फौजदारी अभियोग लागेका ४ जनालाई सफाइ दिएकोलगायत उजुरी परेका छन् । त्यसैगरी एनसेल लाभकर विवाद जारी रहेका बेला लाभांश लैजान दिने आदेश गरेकोलगायत आरोप पनि उनीविरुद्ध लगाइएको छ ।

सर्वोच्च अदालत ६ महिनादेखि कायममुकायमको भरमा चलिरहेको छ । गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भए पनि सर्वोच्चले अहिलेसम्म प्रधानन्यायाधीश पाउन सकेको छैन । सुनुवाइपछि समितिले अनुमोदनसम्बन्धी निर्णय गर्नेछ ।

तपाईको प्रतिक्रिया