नेपाल र भारतबीच ४६ बुँदे संयुक्त प्रेस विज्ञप्तिदेखि ८ बुँदे सझदारीसम्म


Share This

नेपालबहस संवाददाता    

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारतमा जारी राजकीय भ्रमणको दोस्रो दिन हिजो दुवै देशका तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ ।

उक्त राजकीय भ्रमण दुई देशबीचको सम्बन्ध थप सुदृढ र विकसित गरी सुमधुर बनाउने र आगामी दिनमा द्विपक्षीय हित र सो सम्बन्धमा थप विस्तार गर्ने कडीका रुपमा यो सम्बन्धलाई लिइएको सो प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उच्चस्तरका यस्तै भ्रमणहरुको आदानप्रदानका माध्यमबाट द्विपक्षीय साझेदारी एवं समझदारीलाई अझ विकसित र विस्तारित बनाउन सकिन्छ, संयुक्त विज्ञप्तिमा भनिएको छ – “भारतीय प्रधानमन्त्रीले नेपालको तराई क्षेत्रमा हालै आएको बाढीले गरेको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति दुःख व्यक्त गरेका छन् ।”

त्यसैगरी प्रधानमन्त्री देउवाले पनि भारतीय क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिप्रति भारत सरकार र त्यहाँका नागरिकप्रति हार्दिक समवेदना र दुःख व्यक्त गरेका छन् ।

नेपाल–भारत पक्षीय प्रबुद्ध समूहले द्विपक्षीय सम्बन्ध सुधारमा जारी राखेका आपसी बैठक आदिका माध्यमबाट विकसित भएको परिस्थितिप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका छन् ।

त्यसैगरी ४६ बुँदे सो वक्तव्यमा रक्षा सम्बन्धमा भारतले नेपाली सेनालाई प्राविधिक तालीम एवं अन्य क्षमता अभिवृद्धिमा आवश्यक सहयोगका लागि प्रधानमन्त्री देउवाले भारत सरकार र भारतीय सेनालाई धन्यवाद ज्ञापन पनि गरेका छन् ।

दिगो विकासका लागि साझेदारी कार्यक्रमअन्तर्गत सन् २०१६ मा स्थापित संयुक्त संयन्त्रको कार्यक्रममार्फत नेपालमा जारी रहेका भारतीय आयोजनाहरुको कार्यान्वयन र यसको सम्पन्नताका लागि अघि बढाइएका कार्यप्रति पनि दुबै देशका प्रधानमन्त्रीले खुसी व्यक्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी आयोजनालाई प्राथमिकतायुक्त आयोजनामा समेटेको विषयमा प्रधानमन्त्री देउवाले जानकारी गराएको र उनको यो प्रस्तावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुसी व्यक्त गरेका थिए ।

नेपाल सरकारले घोषणा गरेका राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाका लागि भारतले आवश्यक सहयोग उपलब्ध गराउनेमा जोड दिदैं विज्ञप्तिमा भनिएको छ–
“पूर्वाधार निर्माणका माध्यमबाट अन्तरदेशीय सञ्जालको विकास गरिने तथा यसका माध्यमबाट दुई देशबीचमा जनताको तहमा सम्बन्ध र सम्पर्कको विकासमा सहयोग पुग्ने र यसमार्फत आर्थिक विकासमा पनि सघाउ पुग्ने विश्वास लिएको छ ।”

त्यस्तै विज्ञप्तिमा जलस्रोत क्षेत्रको विकास, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका बारेमा आवश्यक छलफल भई यसका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने काम पनि भएको र चाँडो डिपिआर निर्माणका लागि आवश्यक निर्देशन दिइएको उल्लेख छ ।

त्यसैगरी जलस्रोतको विकास, दुई देशबीचको विभिन्न क्षेत्रमा सञ्जालको विकास तथा आपसी सहयोग र साझेदारी, द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन, विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि, नेपालमा सञ्चालित भारतीय आयोजनाहरुको प्रगतिका क्षेत्रमा पनि विज्ञप्तिमा उल्लेख छ ।

दुई देशबीचको सांस्कृतिक सम्बन्धको अभिवृद्धि र यसका माध्यमबाट जनस्तरको सम्बन्धमा विकास, अन्तर्राष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा दुई देशको संयुक्त सहकार्यजस्ता विषयमा विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार हस्ताक्षर भएका आठवटा विभिन्न समझदारी र सम्झौताका बारेमा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री देउवा र भारतीय काँग्रेस अध्यक्ष सोनिया गान्धीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीबीच बिहिबत्रार भारतीय राष्ट्रपतिको कार्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटमा अध्यक्ष गान्धीले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनका लागि प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गरेकी थिइन् ।

उनले हालै नेपालको तराई भूभागमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई सशक्त र सुदृढ बनाउनका लागि जनस्तरको सम्बन्धलाई अझ विकसित गर्नुपर्नेमा जोड दिइन् ।

भारतीय अर्थमन्त्रीको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो साँझ भारतीय अर्थमन्त्री अरुण जेट्लीले शिष्टाचार भेट गरेका थिए ।

भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उनीहरुबीच नेपालमा लगानी प्रवद्र्धन, आर्थिक विकास तथा द्विपक्षीय साझा आर्थिक मुद्दाका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।

भेटमा ऊर्जा, व्यापार, पर्यटनलगायतका विषयमा के कसरी सहकार्यका साथ अगाडि बढ्न सकिन्छ भन्ने बारेमा संक्षिप्त छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए ।

भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उनीहरुबीच नेपाल भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।

भेटमा राष्ट्रपति कोविन्दले नेपाल भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई देशबीचका उच्चस्तरीय भ्रमणलाई थप वृद्धि गर्ने विषयमा कुराकानी गरेका थिए ।

सो अवसरमा नवनियुक्त राष्ट्रपति कोविन्दलाई प्रधानमन्त्री देउवाले बधाई ज्ञापन गरेका थिए ।

यसैगरी साँझ प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडुसँँग पनि शिष्टाचार भेट गरे । उनीहरुबीच हैदरावाद भवनमा शिष्टाचार भेट भएको हो ।

नेपाल र भारतबीच ८ वटा समझदारी

नेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी आठवटा समझदारीपत्रमा हिजो हस्ताक्षर भएको छ । दुवै मुलुकका सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान पनि गरेका छन् ।

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज नयाँदिल्लीमा दुवै देशका अधिकारीले ती समझदारीपत्र आदानप्रदान गरेका हुन् ।

भारत भ्रमणमा जाने विदेशका उच्च पाहुनासँग भेटवार्ता हुने हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्ता र सोही स्थानमा आयोजित विशेष समारोहमा दुवै देशका प्रधानमन्त्री, मन्त्रिगण र उच्च पदाधिकारीको उपस्थितिमा सम्बद्ध अधिकारीले हिजो नै ती समझदारीपत्र आदानप्रदान गरेका हुन् ।

भूकम्पपछिको पुनःनिर्माणसँग सम्बन्धित चार र मेची पुल निर्माण, लागुऔषधको गैरकानुनी ओसारपसार एवं मनोदीपक पदार्थको नियन्त्रण, गुणस्तर मूल्याँकन र लेखा परीक्षण संस्थासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

भूकम्पबाट भत्केका ५० हजार घर पुनःनिर्माण, सांस्कृतिक सम्पदाको पुनःनिर्माण, स्वास्थ्य क्षेत्रका भौतिक संरचना र शिक्षा क्षेत्रका संरचना पुनःनिर्माण गर्नेसम्बन्धी समझदारीपत्र अर्थ सचिव शान्तराज सुवेदी र भारतको बाह्य मामिला मन्त्रालयका सचिव एस जयशंकरले एकापसमा आदानप्रदान गरे ।

त्यसैगरी, मेची पुल निर्माणसम्बन्धी समझदारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतको सडक यातायात राजमार्ग सचिव युधवीर सिंह मल्लिक, लागुऔषधको गैरकानुनी ओसारपसार एवं मनोदीपक पदार्थको नियन्त्रणसम्बन्धी समझदारीमा गृहसचिव लोकदर्शन रेग्मी र भारतका राजश्व सचिव हसमुख अधिया, गुणस्तर मूल्याँकनसम्बन्धी समझादारीमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी र भारतको नाप तौल विभागका महानिर्देशक सञ्जय सिंह तथा लेखा परीक्षण संस्थासम्बन्धी समझदारीपत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष प्रकाश थापा र भारतको चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष निलेस बिकाम्सले हस्ताक्षर गरेका थिए ।

प्रम रात्रिभोजमा

दिनभरी दौडधुममा व्यस्त प्रधानमन्त्री देउवाको सम्मानमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भए ।

भोजमा भ्रमणमा सहभागी परराष्ट्र, अर्थ, वाणिज्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सांसदहरु, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी, उद्योगपतिको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया
Road Show Real State