धुन्चेको खोपाङ भिरमा पहिरो जाँदा रसुवागढी राजमार्गको सिधा सम्पर्क टुट्यो !


Share This

नेपालबहस संवाददाता    

रसुवा । धुन्चेको त्रिशूली नदीनजिक खोपाङ भिरमा पहिरो जाँदा साँझदेखि धुन्चे–रसुवागढी राजमार्गको सिधासम्पर्क टुटेको छ ।

करीब ३० मिटर दूरी सडकमा पहाडका ठूलाठूला ढुङ्गाले सडक अवरुद्ध भई पहिरो स्थलमा स–साना ढुङ्गा झर्ने कार्य जारी भएकाले रातभरिका लागि आवतजावतमा समेत रोक लगाइएको निमित्त जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले बताए ।

ठूलाठूला ढुङ्गा झरेका कारण पहिरो खोली राजमार्ग सुचारु गर्न तीन/चार दिन लाग्ने अनुमान गरिएको सडक कार्यालयका डोजर अपरेटर राजेश दाहालले जानकारी दिए ।

साँझ ६ बजे खसेको ढुङ्गा विस्फोटन गराएर मात्र राजमार्ग खोल्न सकिने प्राविधिकहरुले बताएका छन् । बिरामी लिई चिलिमेबाट धुन्चे अस्पताल आएको एम्बुलेन्ससमेत पहिरोका कारण रोकिएको छ ।

केरुङबाट सामान लिन आएका करीब ५०० कन्टेनर भन्सारबाट छुट्ने क्रममा रहेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया