तीजको दिन कुन कुन रुटमा चल्दैनन सवारी साधन ‘हेर्नुस तालिका’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका लागि नयाँ रुटको व्यवस्था गरेको छ ।

महाशाखाले हरितालिका तीजको दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड हुने भएकाले केही रुटमा सवारी साधनलाई निषेध गरेर नयाँ रुटको व्यवस्था गरेको हो ।

बागमती करिडोरका केही रुटमा पूर्ण रूपमा यातायात प्रतिबन्ध लगाएको र अन्य क्षेत्रमा निश्चित स्थान तोकेको महाशाखाले जनाएको छ । तीनकुने गौशालातर्फ भएर चल्ने मालवाहक सवारी साधनलाई दिनभर चल्न रोक लगाइएको छ । नारायणटार पुलबाट करिडोरको बाटो भएर चल्ने सबै मालवाहक सवारीलाई पनि चलाउन रोक लगाइएको छ ।

यस्तै, रातोपुल गौशाला हुँदै चावहिल बौद्धतर्फ चल्ने सवारी साधनलाई पुरानो बसपार्क भोटाहिटी, जमल हुँदै लाजिम्पाट, नारायण गोपाल चोकबाट चावहिल जान पाउने व्यवस्था गरिएको छ ।

रातोपलु गौशाला भएर चल्ने माइक्रो बस र टेम्पोहरूलाई रत्नपार्क, भद्रकाली, जमल हुँदै सानो गौचरण, कालोपुल तथा सिफलबाट चल्ने व्यवस्था मिलाइएको छ ।

नयाँ बानेश्वर, तीनकुने भएर चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर बानेश्वर हुँदै सिनामंगलसम्म र सोही रुट भएर फर्कने व्यवस्था गरिएको छ ।

श्ंखमूल नयाँ बानेश्वर हुँदै पुरानो बानेश्वर भएर चल्ने माइक्रोबस र टेम्पोहरूलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै करिडोरको बाटोबाट कालोपुल निस्कने व्यवस्था मिलाइएको छ ।

दर्शनार्थी, तीर्थयात्री तथा पर्यटकका लागि तिलगंगामा पार्किङको व्यवस्था गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार