पर्यटकीय राजधानी पोखरा : दक्षिण एशियाकै प्रवेशद्वार बनाउने बहस !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । होटल सङ्घ नेपाल हानले पोखरा महानगरपालिकालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रस्ताव गरेको छ ।

यहाँ आज आयोजित अन्तरक्रियामा पर्यटन व्यवसायी, प्रदेशका मुख्यमन्त्री, मन्त्री र पोखराका महानगरका प्रमुखलाई सँगै राखेर सङ्घले पोखरालाई दक्षिण एशियाको पर्यटकीय प्रवेशद्वार बनाउन सकिने अवधारणासहित पर्यटकीय राजधानीको प्रस्ताव गरेको हो ।

सङ्घका अध्यक्ष अमरमान शाक्यले गण्डकी प्रदेशमा दिगो पर्यटन विकास गर्दै यसलाई समृद्ध प्रदेशका रुपमा अगाडि बढाउन सकिने बताउँदै यसका लागि सङ्घीय सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने सुझाव दिए ।

प्रदेश सरकारले पर्यटनमैत्री तथा लगानीमैत्री नीति तर्जुमा गर्दै पोखरालाई विशेष पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाएर दशौँ लाख पर्यटक भित्र्याउन सकिने धारणा उनले व्यक्त गरे ।

सङ्घका पूर्वअध्यक्ष एवम् होटल सङ्घ नेपालका पूर्वअध्यक्ष परिषद् गण्डकी प्रदेशका संयोजक प्रसिद्धबहादुर पाण्डेले हरेक उमेर, क्षमता र अवस्था भएका पर्यटकका लागि पोखरा उपयुक्त पर्यटकीय गन्तव्य भएको अवधारणापत्र प्रस्तुत गरे ।

पोखरालाई मास तथा माइस एमआइसिई टुरिज्मको गन्तव्यका रुपमा विकास गर्न आक्रामक तथा आकर्षक पर्यटकीय नीति तर्जुमा गर्दै सन् २०२० को नेपाल भ्रमण वर्षको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन उहाँले सरकारको ध्यानाकर्षण गराए ।

अवधारणापत्रमा होटल तथा रिसोर्ट खोल्न सरकारी जग्गा भाडामा दिन सकिने व्यवस्था हुनुपर्ने, करीब पाँच प्रतिशत ब्याजदरमा बैंक कर्जा उपलब्ध हुनुपर्ने र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने उल्लेख छ ।

काठमाडौँ, पोखरा, भैरहवा र निजगढमा विमानस्थल सुधार तथा निर्माण भएपछि र पोखरा जोड्ने मध्यपहाडी, पृथ्वी, सिद्धार्थ र कोरला हुँदै त्रिवेणी जोड्न राजमार्ग निर्माण तथा विकास भएपछि पोखरा पर्यटनको विशिष्ट केन्द्र बन्ने उल्लेख गर्दै उनले पर्यटकीय विकासका लागि लेकसाइडलाई २४ घण्टा नै खोल्ने वातावरण बनाउनुपर्ने तथा डाँडाकाँडामा होटल र क्यासिनो खोल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

मुख्यमन्त्री गुरुङले मुस्ताङमा हाइ अल्टिच्युड खेल केन्द्र खोल्ने तथा लगानी सम्मेलन गर्ने प्रदेश सरकारको चाहना रहेको बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •