आज हरितालिका तीज : देशभरिका शिव मन्दिरमा पूजाआजा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । हिन्दु नारीहरूको विशेष चाड हरितालिका तीज आज देशभरिका शिव मन्दिरमा पूजाआजा गरि मनाइँदै छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा राजधानीको पशुपतिनाथ मन्दिर र देशभरिका शिव मन्दिरमा पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ ।

पशुपतिनाथमा भक्तजनको सुविधाका लागि बिहान तीन बजेदेखि नै मन्दिरका चारै ढोका खोलिएको छ । पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भर्‍याङ हुँदै कैलाश दक्षिण जुत्ता चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।

पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। यसैगरी तेस्रो मार्ग वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसठ्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार