साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । बुधबार ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि एकपटक साफ च्याम्पियनसिपको सेमिफाइनलबाट माथि जान सकेन ।

चौथो पटक साफको सेमिफाइनल खेलेको नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको थिएन । बुधबार ढाकामा पनि नेपालको त्यही नियति दोहोरियो । खेलको नवौं मिनेटमा कप्तान अक्रम अब्दुल घानीले शानदार फ्रिकिकमार्फत गोल गरी माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।

रक्षापंक्तिको कमजोरीमा खेलको अन्त्यतिर नेपालले दुई गोल खान पुग्यो । दुवै गोल इब्राहिम वाहिदले नै गरे । ८४औं मिनेटमा नेपाली डिफेण्डर अनन्त तामाङले डिबक्सबाट क्लियर गरेको बलमा इब्राहिमले गोल गरेका थिए ।

त्यसको तीन मिनेटपछि नेपालले तेस्रो गोल खान पुग्यो । यतिबेला पनि नेपालको रक्षापंक्ति निकै कमजोर देखियो । गोलरक्षक किरण चेम्जोङ आफ्नो पोजिसनबाट अगाडि बढेको अवस्थामा इब्राहिमले नै पेनाल्टी एरियाबाट गोल गरे ।

२७औं मिनेटमा मेघ गर्जनसहितको वर्षा र खराव प्रकाशका कारण खेल केहि समय रोकिएको थियो । करिब आधा घण्टापछि सुरु भएको खेलमा नेपालले गोलका केही अवसरहरु सदुपयोग गर्न सकेन ।

पहिलो हाफको अन्त्यतिर भरत खवास गोल गर्ने सुनौलो अवसरबाट चुक्न पुगे । त्यस्तै ७५औँ मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले पनि त्यस्तै मौका गुमाए । बिमल घर्तीमगर र सुनील बलले गोलको प्रयास गरे पनि सफल हुन सकेनन् ।

समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले त्यसयता भुटानबिरुद्ध ४–० र अन्तिम खेलमा घरेलु टोली बंगलादेशविरुद्ध २–० गोलअन्तरको जित निकाल्दै समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो ।

सुरुमे गोल खानु परेपछि नेपाली टोली हतोत्साही देखियो भने वर्षाका कारण मैदान हिलो भएपछि नेपाली टोलीमा तालमेलको कमी देखियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •