नेपालले संसारलाई एउटा सकारात्मक सन्देश दियो : साराबी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपालको शान्ति प्रकियाको ढाँचा अध्ययन गर्न आएको अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ ।

अफगानस्तानको उच्च शान्ति परिषद्की उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहेका मन्त्री पुनसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको बाटोका बारेमा छलफल गरेको समाचार स्रोतले बताएको छ । हबिबा अफगानस्तानकी पूर्वमन्त्रीसमेत हुन् ।

सो अवसरमा ऊर्जामन्त्री पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ ढाँचा भएको उल्लेख गर्दै शान्ति प्रक्रिया सम्पन्न गरेर नेपालले संसारलाई एउटा सकारात्मक सन्देश दिएको बताइन् ।

“नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बनेको छ, हामीले शान्ति प्रक्रिया आफ्नै अग्रसरतामा सम्पन्न गर्न सफल भयौँ ।” युद्ध कुनै पनि समाजका लागि राम्रो नभए पनि त्यसका पछाडि केही बाध्यता र केही ऐतिहासिक संयोग हुने गरेको पनि मन्त्री पुनले बताए ।

अफगानिस्तानमा शान्ति प्रक्रिया प्रारम्भ भएको थाहा पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनले नेपालको ढाँचाबाट अफगानिस्तानले सिकेर शान्ति कायम गर्ने दिशामा लाग्नसमेत सुझाव दिए । मन्त्री पुनले शान्ति प्रक्रिया भनेको लडाइँभन्दा जोखिम हुने भन्दै त्यसमा धैर्यतापूर्वक काम गर्न आग्रह गरे ।

भेटमा अफगानिस्तानका उच्च शान्ति परिषद्की उपप्रमुख डा साराबीले अफगानिस्तान शान्ति प्रक्रियामा अघि बढेको जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिइन् ।
उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेको धारणा व्यक्त गरिन् ।

यसैवीच, गृहमन्त्री रामबहादुर थापा‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन् । गृहमन्त्रालयमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग आज भएको भेटमा गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।

गृहमन्त्री थापाले शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी, समातुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको दाबी गरे ।

उनले राजनीतिक परिवर्तनपछि अब नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढेको बताउँदै अफगानिस्तानमा सुरु भएको शान्ति प्रक्रिया नेपालका लागि पनि उदहरणीय हुने भन्दै शान्तिप्रक्रियाको सफलताका लागि शुभेक्षा समेत व्यक्त गरे ।

उनले भने, ‘हरेक युद्धका कारण हुन्छन, ती कारणको पहिचान गरेर त्यसलाई समाधानको उपाय निकाल्नुपर्छ । त्यसो भएमा मात्रै शान्ति कायम हुन्छ ।’

अफगानिस्तानका पूर्वमन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा सराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन प्रक्रिया, संविधान लेखन लगायतको प्रक्रियाबारे गृहमन्त्रीसँग चासो राखेको थियो ।

उनीहरुले नेपालको शािन्तप्रक्रियाबारे जानकारी लिन र सिक्ने उद्देश्यले आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार