तीजका दिन ७ लाखभन्दा बढीले पशुपतिनाथको दर्शन गरे


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरेर बुधबार एकैदिन सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, ढकालका अनुसार बेलुकी ८ बजेसम्म लाममा बसेर सात लाख बढीले पशुपतिनाथको दर्शन गरेका हुन ।

बुधबार बिहान ३ बजेदेखि शुरु भएको पशुपति दर्शन बेलुकी ८ बजेसम्म चलेको थियो । विभिन्न जिल्लाबाट दर्शनका लागि आएका भक्तजनको दिनभर पशुपतिमा घुँइचो रह्यो । बेलुकी राष्ट्रपति भण्डारी मन्दिर प्रवेश गर्नुअघि दर्शनार्थीलाई एक घण्टासम्म मन्दिर प्रवेश गर्न दिइएको थिएन ।

त्यसबेला बाहेक दिनभर सबैजसो भक्तजनले सामान्य र सहज ढंगले दर्शन गरेका थिए । विगत बर्षभन्दा निकै सहज ढंगले पशुपतिको दर्शन गर्ने व्यवस्था मिलाइएको भन्दै दर्शनार्थीले खुशी समेत व्यक्त गरेका थिए ।

यस वर्ष लाम व्यवस्थित गरिएकाले तिलगङ्गा–गौशाला–चावहिल मार्गमा दिनभर सार्वजनिक यातायात सञ्चालन भएको थियो । यसले गर्दा पनि भक्तजन आवतजावत गर्न सहज भएको थियो ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको थियो । तीजका दर्शनार्थीलाई प्रवेश गराउन मन्दिरका चार ढोका बेलुकी ८ बजेसम्म खुला गरियो । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा दिनभर भीड लागेको थियो ।

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको थियो ।

जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने र वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसट्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको थियो ।

दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भागमा स्थान छुट्याइएको थियो ।

तपाईको प्रतिक्रिया