निर्मलाका बाआमासँग उभिएर आईजीपीले भने- ‘हत्यारा प्रहरी भएपनि कठघरामा उभ्याउँछु’


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिलाइ छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

आइतबार अधिकारकर्मीसहित निर्मलाका बा यज्ञराज र आमा दुर्गादेवी आइजिपीलाई भेट्न प्रहरी हेडक्वार्टर पुगेका बेला खनालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन । निर्मलाका बा आमाले खनालसामु न्यायको अन्तिम आश आईजीपीमाथि रहेको भन्दै अरुले जस्तो गरी धोका नदिन बिन्ती गरेका थिए ।

विभिन्न अधिकारकर्मी समेत संगै रहेको भेटमा आईजीपी खनालले केही गलत मनसाय र व्यवहारका प्रहरी अधिकारीका कारण सिंगो प्रहरी संगठन नै बदनाम भइरहेको भन्दै निर्मलाको घटनालाई गम्भिरताका साथ लिएको बताएका थिए ।

घटना भएको ५३ दिन वितिसक्दा समेत दोषी पत्ता नलाग्नु दुःखद भन्दै आईजीपीलाई अधिकारकर्मीले विशेष आग्रह गरेका थिए । जवाफमा आईजीपी खनालले भने “बलात्कार जस्तो जघन्य अपराध मानिने निर्मलाको घटनमा म निकै संवेदनशील छु । दोषी जो भएपनि कानुनी कठघरामा उभ्याएरै छाड्छु ।”

कञ्चनपुर प्रहरीले घटना लुकाउन खोजेको भन्दै महिला अधिकारकर्मीको प्रश्नमा आईजीपी खनालले अगाडी भने “केही प्रहरी अधिकारकीका कारण मेरो नेतृत्वको प्रहरी संगठन बदनाम भइरहेकामा म पनि चिन्तित छु । प्रहरी नै दोषी भेटेको खण्डमा म त्यस्ता प्रहरी अधिकारी जो भएपनि सफाई गर्छु ।”

आईजीपी खनालले ठोस प्रतिबद्धता जनाएपछि निर्मलाका बाआमा पनि न्याय पाउनेमा आशावादी रहेको महिला अधिकारकर्मीले बताएका  छन । यद्यपी न्यायका लागि आईजीपीपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्मलाका बाआमालाई भेटाउने प्रयास भइरहेको पनि उनीहरुले जनाएका छन ।

तपाईको प्रतिक्रिया