प्रधानमन्त्रीकै अगाडी निर्मलाका बाआमाको अपमान, दोषीलाई कारबाही गर्ने आश्वासन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बलात्कारपछि हत्या भएकी १३ बर्षीया छोरीलाई न्याय दिन माग गर्दै काठमाडौँ आएका निर्मला पन्तका बाआमालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले अपमान गरेको अधिकारकर्मीले गुनासो गरेका छन ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न अधिकारकर्मीसहित निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवी बालुवाटार पुगेका थिए । साथमा आधा दर्जन बढी अधिकारकर्मी पनि थिए । तर निर्मलाको बलात्कार र हत्याको घटनाक्रम प्रधानमन्त्रीलाई सुनाउने क्रममा आफुहरुलाई नेकपाका नेताहरुले अपमान गरेको अधिकारकर्मीले गुनासो गरेका हुन ।

नेकपाका नेता तथा पुर्वमन्त्री कर्ण बहादुर थापाले बलात्कार जन्य जघन्य अपराधजस्तो घटनाबारे प्रधानमन्त्रीलाई जानकारी दिन लागिएका बेला आफुहरुलाई ‘बढ्ता नबोल्नुस’ भन्दै अपमान गरेको उनीहरुको दाबी छ । आफुहरुको अपमान भनेकै निर्मला पन्त र उनका बाआमाको समेत अपमान भएको अधिकारकर्मीले दाबी गरे ।

यसअघि जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे गलत अभिव्यक्ति दिएका थिए । उनले निर्मलाको हत्यामा आरोपित बम दिदीबहिनीको बारेमा बढी चिन्ता जनाउँदै विवादित अभिव्यक्ति दिएपछि निर्मलाका बाआमासमेत प्रधानमन्त्रीसँग रुष्ट बनेका थिए ।

यसबारेमा प्रधानमन्त्रीलाई सत्य कुरा जानकारी गराउन खोज्दा आफुहरुले अपमान खेप्नुपरेको भेटमा सहभागि एक अधिकारकर्मीले बताइन ।

कारबाही गर्ने आश्वासन !

छोरीलाई बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न निर्मलाका बाआमाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही गर्ने आश्वासन दिएका छन ।

ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले आफुलाई दोषी उम्काउन लागेको आरोप लगाइएको भन्दै घटनाको ढाकछोप गर्नेलाई पनि नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्मलाका बाआमाले यसअघि गृहमन्त्री रामबहादुर थापा बादल, आइजीपी सर्वेन्द्र खनाललाई समेत भेटिसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार