आज गणेशमान सिंहको २१ औँ स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइदै !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरेका थिए ।

“स्व सिंह सङ्घर्षशील, त्यागी र प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उनले भने । नेता सिंहले मुलुकमा अलग अलग धारमा विभाजित कम्युनिष्टलाई एक ठाउँमा ल्याउन स्व सिंहले महत्वपूर्ण भूमिका खेलेको बताए ।

“एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन त्यतिवेला स्व सिंहको महत्वपूर्ण योगदान छ,” उनले भने। काङ्ग्रेस स्व सिंहको विचारलाई अनुशरण गरेर अगाडि बढिरहेको उनको भनाइ थियो ।

सिंहले वर्तमान सरकारले जनताको समस्यालाई चित्तबुझ्दो तरिकाले समाधान गर्न नसकेको आरोप लगाएका थिए । “सरकारले राखेको लक्ष्य सुशासन र समृद्धिको नारालाई पूरा गर्न सकेको छैन”, उनले भने । उनले काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उल्लेख गरेका छन ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, काठमाडौँ पार्टी सभापति सबुज बानियाँ, भातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो । विसं १९७२ कात्तिक २४ गते जन्मेका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State