‘नेपालले चीनबाट आर्थिक समृद्धि र विकास निर्माणको लाभ लिनुपर्छ’


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले चीनले प्राप्त गरेको अभूतपूर्व आर्थिक विकास एवं पूर्वाधारका क्षेत्रमा भएका सफलता नेपालका लागि ठूलो अवसर रहेको बताएका छन ।

काठमाडाँैस्थित चिनियाँ सांस्कृतिक केन्द्र र कुइचो प्रान्तको सांस्कृतिक विभागद्वारा आयोजित चीनको महत्वपूर्ण पर्व ‘शरद् ऋतु पर्व’ अर्थात् ‘मुन फेस्टिभल’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले चीनबाट आर्थिक समृद्धि र विकास निर्माणका लागि ठूलो लाभ लिनसक्ने बताए ।

नेपाल र चीनबीचको सम्बन्ध एकअर्काप्रति सम्मान, आपसी मित्रता, सहयोग, समझदारी, सहकार्यबाट आत्मीय र घनिष्ठ बनेको बताउँदै उनले शान्ति, पञ्चशीलको सिद्धान्तले बहुपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण आधार सिर्जना गरेको बताए ।

नेपाल र चीनबीचको सम्बन्ध पाँचौँ शताब्दीदेखि शुरु भएको उल्लेख गर्र्दै सभामुख महराले सीमा क्षेत्रमा कठिन हिमाल र पहाडका उपस्थितिका बाबजुद पनि प्राचीन समयदेखि कायम सम्बन्ध र सहकार्यलाई अझ मजबुद बनाउन दुवै देश सक्षम भएको बताए ।

तत्कालीन परिस्थितिमा व्यापारीले कठिन हिमाल तथा पहाड पार गरेर दुवै देशको सभ्यता आदानप्रदान गर्ने कार्यको थालनी गरेको स्मरण गर्दै उनले भने, “नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा हजारौँ वर्षअघिदेखि नै दुई देशबीच सांस्कृतिक, सामाजिक, धार्मिक सम्बन्ध विस्तार भइसकेको थियो ।

नेपाली यात्रीले बौद्ध धर्मको मात्र प्रचार नगरी नेपाली कला, संस्कृतिलाई तिब्बत, युनान र सिचुवान पार गरी पूरै चीनमा फैलाएका थिए ।”

सभामुख महराले विशेष महत्व बोकेका यस्ता पर्वले नेपाल र चीनबीच सांस्कृतिक र सामाजिक सम्बन्ध अझै प्रगाढ र आत्मीय बनाउने विश्वास व्यक्त गरेका थिए । चीन कला, संस्कृति र ऐतिहासिक चाडपर्व एवं परम्परामा निकै धनी रहेको बताउँदै उहाँले आफूले विभिन्न समयमा गरेको चीन भ्रमणका क्रममा त्यहाँको कला, संस्कृति र परम्पराको अवलोकन गरेको स्मरणसमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State