fbpx

पाँच महिनामै १ हजार ९ सय ८ लैंगिक हिंसाका मुद्दा दर्ता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पछिल्लो पाँच महिनामा जबर्जस्ती करणी, करणी उद्योग, बहुविवाह, बालविवाह, घरेलु हिंसा र अवैध गर्भपतनजस्ता लैंगिक हिंसाका घटनामा वृद्धि भएको छ ।

०७५ वैशाखदेखि भदौसम्म जबर्जस्ती करणी ७१०, जबर्जस्ती करणी उद्योग ३९१, बहुविवाह ३४०, बालविवाह ४०, घरेलुहिंसा पाँच हजार ४१७ र अवैध गर्भपतन १० वटा घटना प्रहरीकहाँ दर्ता भएका थिए ।

प्रतिनिधिसभा, महिला र सामाजिक समितिको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सो जानकारी दिँदै लैंगिक हिंसाका घटनामा वृद्धि हुनु चिन्ताको विषय रहेको बताइन् ।

उनले लैंगिक हिंसा अन्त्य गर्न प्रतिनिधिसभाले पारित गरेका संकल्प प्रस्तावलाई कार्यान्वयनमा उतार्न मन्त्रालयले ध्यान दिएको चर्चा गर्दै यसविरुद्ध अभियान सञ्चालन गर्न लागिएको जानकारी दिइन् ।

उनका अनुसार सातवटै प्रदेशका सबै स्थानीय तहमा पुग्ने गरी यही असोज २० गते कञ्चनपुरबाट अभियानको शुभारम्भ गरिनेछ । अभियानमा लैंगिक हिंसाविरुद्धका सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछ ।

बैठकमा सांसद नारायण खतिवडाले लैंगिक हिंसाविरुद्ध सामाजिक अभियान सञ्चालन गर्न आवश्यक रहेको चर्चा गर्दै हिंसा गर्नेमाथि कडा कारबाही गरिनुपर्ने बताए ।

सांसद गणेश ठकुन्नाले केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहबाट समन्वय गरी लैंगिक हिंसाविरुद्धका कार्यक्रम सञ्चालन गर्दा बढी प्रभावकारी हुने सुझाव दिए । सांसद कृष्ण राईले सामाजिक परिवर्तन र सांस्कृतिक रूपान्तरण गर्न लैंगिक हिंसाविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सांसद गंगा चौधरीले आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्ने नैतिक शिक्षामा कमी हुन जाँदा लैंगिक हिंसाका घटनामा वृद्धि भएकोतर्फ ध्यान दिन आग्रह गरिन् । समितिका सभापति निरु पालले लैंगिक हिंसाविरुद्ध कार्ययोजना बनाई काम गर्नुपर्ने बताइन् ।

तपाईको प्रतिक्रिया