चाबहिल–साँखु सडकखण्डमा स्थानियको विरोधका कारण यात्रुहरु हैरानी खेप्दै


Share This

नेपालबहस संवाददाता    

२४ भदौ, काठमाडौं । चावहिल–जोरपाटी–साँखु सडक विस्तार हुन सकेको छैन । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले करिब दुई वर्ष पहिलेदेखि सडक विस्तार कार्य अगाडि बढाए पनि स्थानीयबासिन्दाको अवरोधका कारण विस्तार हुन नसकेको हो । बाटो आसपासमा घरटहरा बनाएर बसेका स्थानियहरुले विभिन्न बाहना बनाएर बाटो विस्तारको काममा अवरोध गरिरहेको ठेकेदारले आरोप लगाएका छन् । मापडण्ड विपरीत बनेका संरचनाहरु हटाउन नसक्दा बाटो विस्तारको काम अलपत्र परेको छ भने दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने काठमाडौंको उत्तर पूर्वी नाका अस्तव्यस्त बन्न पुगेको छ ।

कुल लम्बाई ११.४६ किलोमिटर सडकखण्ड रहेको चाबहिल–साँखु सडकमा स्थानीय बासिन्दाको अवरोधका कारण ६.२० किलोमिटरमा कुनै काम हुन सकेको छैन भने ५.२६ किलोमिटर सडकमा आंशिक अवरोध भएको, कतै केही काम भएको र कतै काम नभएको आयोजनाका प्रमुख दीपक केसीले जानकारी दिए ।

आयोजनाले ५५५ बिजुलीका पोल, २७ ट्रान्समिटर, २२० टेलिफोनको पोल, १७ टेलिकम क्याबिनेट, ४७८ रुख र ५६१ घरटहरा हटाउनुपर्नेमा हालसम्म जम्मा ११७ घरटहरा मात्र हटाएको र अरु सबै यथावत रहेकाले काम गर्न समस्या परेको छ ।

चाबहिल–साँखु सडकखण्डको निर्माणमा ढिलाइ भएपछि आज सडक विभागका महानिर्देशक, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतको टोलीले उक्त सडकको निरीक्षण गरेको छ ।

निरीक्षणपछि विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले सडक अवरोध नभएका स्थानमा तत्काल काम गर्न आयोजना र सम्बन्धित ठेकेदारलाई निर्देशन दिए । “अवरोध नभएका ठाउँमा काम गर्दै जानुहोस्, अवरोध भएका ठाउँमा हामी सम्बन्धित पक्षसँग बसेर अवरोध हटाउने काम गछौँ,”–महानिर्देशक सिग्देलले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बाटो विस्तार रोकिँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको भन्दै सम्बन्धित पक्ष बसेर यसको समाधान चाँडो गर्नुपर्ने बताए ।

उक्त बाटो विस्तार नहुँदा काठमाडौँको साँखु, जहरसिंह पौवा, नाङलेभारे, सिन्धुपाल्चोकको भोटेचौर, मेलम्चीलगायत स्थानमा आवतजावतमा समस्या परेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार