fbpx

देउवाले भने ‘गान्धीले देखाएको बाटोमा ठूला परिवर्तन हुन्छ’


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने बताएका छन ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औँ गान्धी दिवसका अवसरमा आयोजना गरेको २१ औँ शताब्दीको लोकतन्त्र र गान्धी विषयक विचार गोष्ठीमा उनले महात्मा गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका शीर्ष पुरुष भएको बताए ।

“अङ्ग्रेजजस्तो बलियो शक्तिलाई आन्दोलनबाट हटाउन गान्धीको महत्वपूर्ण योगदान रहेको थियो,” उनले भने । सभापति देउवाले गान्धीले देखाएको बाटोमा ठूला परिवर्तन हुन्छ भन्ने सन्देश नेपालमा भएका परिवर्तनले दिएको उल्लेख गर्नुभयो ।

उनले काँग्रेस नेता स्वर्गीय महेन्द्रनारायण निधि गान्धीवादी नेता भएको भन्दै गान्धीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारेका थिए । काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले गान्धीले चलाएको अहिंसात्मक आन्दोलनमा नेपाली जनताको पनि उत्तिकै साथ र सहयोग रहेको उल्लेख गरेका थिए ।

“गान्धीले देखाएको अहिंसा र शान्तिको बाटोमा अहिले भारतीय जनता अगाडि बढेका छन्,” उनले भने । नेता निधिले बन्दुकको नालबाट ल्याएको सत्ता लामो समय टिक्न नसक्ने स्पष्ट पारे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिले गान्धी बहुआयमिक क्षमताका व्यक्ति भएको बताए । “सत्यको पक्षमा कसैसँग नडराउने गान्धीको विशेषता थियो,” उनले भने ।

नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले हिंसाको विरुद्धमा गान्धीले चालेको कदम महत्वपूर्ण रहेको बताए । “गान्धीलाई माक्र्सवादको दृष्टिकोणले समेत हेर्न सकिन्छ,” उनले भने ।

तपाईको प्रतिक्रिया