fbpx

अति गरीबको सूचीमा परे पूर्वमन्त्री, नेता र सरकारी जागिरे !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गरीबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उकास्न गरीब घरपरिवार पहिचान र परिचय पत्र वितरण गर्ने सरकारी कार्यक्रम अहिले कार्यान्वयनको प्रारम्भिक चरणमा छ । कार्यक्रम अनुसार, घरको छानो, जग र गारोदेखि खाना पकाउने इन्धनको प्रकार, घरायसी सुविधाको उपलब्धता, शैक्षिक र सामाजिक अवस्था लगायतका १८ वटा सूचकका आधारमा २५ जिल्लामा गरीब घरपरिवारको पहिचान गरिएको छ । बाजुरा र बझङ धेरै गरीब बसोबास गर्ने ती जिल्ला मध्येमा पर्छन् ।

गरीब भनेको को हो ? गरीबीको रेखामुनि हुनु भनेको के हो ? गरीब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय काठमाडौंका निर्देशक रामहरि गैरेका अनुसारः– ‘क’ वर्गका गरीब अर्थात् अत्यन्तै गरीबमा वार्षिक रु.१९ हजार ६०० खर्च गर्न नसक्ने परिवार पर्छ । त्यसै गरी वार्षिक रु.३१ हजार ६०० खर्च गर्न नसक्ने परिवार ‘ख’ वर्गको गरीबमा पर्छ भने ‘ग’ वर्गको सामान्य गरीबमा वर्षिक रु.४० हजार खर्च गर्न नसक्ने परिवार पर्छ ।”

जनकराज गिरी बाजुरा र प्रदेश–७ कै चर्चित नाम हो । स्वामीकार्तिक खापर गाउँपालिका–४, वाईगाउँका गिरी राष्ट्रिय व्यक्तित्व हुन् । २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांसद निर्वाचित उनी २०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भूमिसुधार सहायक मन्त्री थिए ।

उनको नाम बोर्डको ‘अति गरीब’ सूचीमा छ, क्रम संख्या २,६६,२४० मा । गिरी राजनीतिमा आउनु अगाडि स्वामीकार्तिक माविका स्थायी शिक्षक थिए । यसबारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया गिरीले दिए । उनले भने, “आमा मात्रै घरमा भएका बेला नाम संकलन गरिएछ, मलाई केही थाहा छैन ।”

यही सूचीको क्रम संख्या २,६९,५५६ मा सूचीकृत अजबहादुर मल्ल तत्कालीन नेकपा एमालेबाट दुई पटक जिल्ला विकास समिति सदस्य भइसकेका व्यक्ति हुन् । उनी गएको स्थानीय निर्वाचनमा हिमाली गाउँपालिकाको अध्यक्ष पदमा उठेर पराजित भएका थिए । मल्लले सदरमुकाम मार्तडीमा दाजुभाइ ग्रील उद्योग संचालन गरेका छन् । मल्लको स्वामीकार्तिक मानसरोवर यातायात प्रालि नाम गरेको यातायात कम्पनीमा आबद्धता छ । मल्ल पनि गरीबको सूचीमा आफ्नो नाम समावेश भएको बारे गिरीले जस्तै ‘केही जानकारी नभएको’ बताएर उम्किए ।

जिल्ला स्वास्थ्य कार्यालय, बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्माका बुवा नरवीर कामी पूर्व शिक्षक हुन् । बूढीनन्दा नगरपालिका–५, काल्सिलका नरवीरको नाम मध्यम गरीबमा सूचीकृृत छ (क्रम संख्या २,१६,०२०) । यसबारे डा. विश्वकर्मासँग प्र्रश्न गर्दा उनको भनाइ थियो, “मलाई केही जानकारी छैन, त्यस्तो भए सूचीबाट हटाउन लगाउँछु ।”

स्वामीकार्तिक खापर गाउँपालिका–४, वाई गाउँका खम्बीर बुढा गाउँपालिकाका लेखापाल हुन् । यसअघि उनी जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी थिए । खम्बीरकी आमा सेते बुढाको नाम ‘क’ वर्गको अति गरीबको सूची क्रम संख्या २,६६,७१८ मा उनको नाम छ । यसबारे प्रश्न गर्दा खम्बीरले भने, “हाम्रो नाम कसरी प¥यो थाहै छैन, हटाउन लगाउँछु ।”

यो गाउँपालिकाका स्वास्थ्य संयोजक, सिनियर अहेव भक्त कैलाकी आमा जनकलाको नाम पनि अति गरीबको सूचीमा छ ९क्रम संख्या २,६६,६९५० । भक्तले पनि खम्बीरकै जस्तो जवाफ दिंदै भने, “हामी घरमा नहुने भएकाले छरछिमेकीलाई सोधेर सूची बनाइयो होला । परिचय पत्र बाँड्ने कुरा भएपछि मात्र हामीले थाहा पायौं, अहिलेसम्म कुनै सुविधा लिएका छैनौं ।”

स्वामीकार्तिक खापर–२, साप्पाटास्थित राधुमाता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाशबहादुर बमका बुबा बृजबहादुर बमको नाम मध्यम गरीबको सूचीमा छ (क्रम संख्या ६,०५,२९३) । हिमाली गाउँपालिका–४, बछ्यास्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक देवकुमारी मल्लका बुबा रत्नबहादुर मल्लको नाम पनि मध्यम गरीबको सूचीमा समावेश छ (क्रम संख्या २,३७,५८३) ।

बूढीनन्दा नगरपालिका–८, पाण्डुसैनस्थित सत्य माविका शिक्षक मनरुप बोहरा (क्रम संख्या २,४६,७२१), हिमाली गाउँपालिका–५, नदापाटस्थित मंगलमय प्राथमिक विद्यालयका शिक्षक दीपचन्द्र उपाध्याय (क्रम संख्या २,६९,०५४) र बूढीनन्दा नगरपालिका–३, भुलेनास्थित कालिका निम्न माध्यमिक विद्यालयका राहत शिक्षक राजेन्द्रप्रसाद तिमिल्सेना (क्रम संख्या २,६९,०५४) सामान्य गरीबमा सूचीकृत छन् ।

मंगलमय प्राविकै शिक्षक देवराज पाण्डेको नाम मध्यम गरीबको सूचीमा छ ९क्रम संख्या २,६९,६४१० । स्वामीकार्तिक माविका शिक्षक मनिप्रसाद जोशी (क्रम संख्या २,६६,६९२) र कालिका प्राविका शिक्षक मानबहादुर बुढा (क्रम संख्या २,६६,७३२) अति गरीबको सूचीमा छन् भने बूढीगंगा नगरपालिका–७, बारबिसस्थित शारदा माविका शिक्षक टेकबहादुर केसी मध्यम गरीबमा सूचीकृत (क्रम संख्या ३,१०,३२१) छन् ।

धिमस्थित बडिमालिका माविमा पढाउने हिमाली गाउँपालिका–६ का पूर्णलाल रावतका बुवा रनसुर (क्रम संख्या २,३७,८०४) र सोही वडा निवासी खोलीखाँडा निम्न माध्यमिक विद्यालयका शिक्षक पदम रोकायाका बुबा अजबिरको नाम (क्रम संख्या २,३७,७६६) अति गरीबको सूचीमा छ । बडिमालिका नगरपालिका–२, जुगाडाका कर्ण केसी र कालु केसी दाजुभाइ क्रमशः कैलाश प्रावि, घागर र सत्यवादी मावि, भौनेराका शिक्षक हुन् । केसीद्वयकी आमा मनमतीको नाम (क्रम संख्या २,५७,४०९) पनि अति गरीबको सूचीमा छ ।

सरकारले ‘गरीबीको रेखामुनि रहेका जनतालाई राज्यको स्रोत, साधन र क्षमताले भ्याएसम्म सामाजिक संरक्षण प्रदान गर्ने’ भन्दै ‘गरीब घरपरिवारलाई राज्यले प्रदान गर्न सक्ने सेवासुविधा परिचय पत्र प्रणाली मार्फत प्रदान गर्ने’ भनेर गाउँ गाउँबाट गरीबको विवरण संकलन गरेर यो सूची तयार गरेको हो । अन्य सुविधाको टुंगो नलागिसके पनि पाँच जना सदस्य रहेका गरीब घरपरिवारलाई रु.२५०० स्वास्थ्य बीमा शुल्कमा प्रतिव्यक्ति रु.५० हजारसम्मको उपचार निःशुल्क गर्ने निर्णय सरकारले गरिसकेको छ । अति गरीब परिवारको बीमा शुल्क शतप्रतिशत सरकारले तिरिदिन्छ भने मध्यम गरीबको ७५ प्रतिशत तथा सामान्य गरीबको ५० प्रतिशत स्वास्थ्य बीमा शुल्क सरकारले व्यहोर्छ । गरीब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले तयार पारेको सूची अनुसार बाजुराका नौ वटै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम लागू भइसकेको छ । यी र यस्तै सुविधाको लोभले समाजका सम्पन्न र हुनेखानेहरू पनि ‘गरीब बन्ने’ दौडमा सामेल भएका हुन् ।

निमेन्द्र शाही
खोज पत्रकारिता केन्द्रका लागि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार