fbpx

आईजीपी बर्खास्तीको मागपछि सत्तारुढ विद्यार्थी संगठनमा विवाद चर्कियो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । व्यक्तिगत स्वार्थपुर्ति नभएपछि मनगढन्ते ढंगमा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालको बर्खास्तीको माग गर्दै गृहमन्त्री रामबादुर थापालाई ज्ञापन पत्र बुझाउने दुई विद्यार्थी संगठनका अध्यक्षको लहडप्रति सोही संगठन भित्र विवाद चर्किएको छ ।

अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नवीना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आज बिहान गृहमन्त्रीलाई ७ सुत्रीय माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । सो ज्ञापनपत्रको १ नम्बर मागमा आईजीपी खानालको राजीनामा मागिएको थियो । दुवै विद्यार्थी संगठनको केन्द्रिय कार्यसमितिमा बिना छलफल आईजीपीको राजीनामा मागेर सरकारविरुद्ध नै संगठनका अध्यक्षद्वय लागि परेको आरोप विद्यार्थी नेता एवं उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले लगाएका छन् । त्यस्तै अनेरास्ववियुका महासचिव ऐन महरले पनि आईजीपी बर्खास्तीको माग संस्थागत निर्णय नभएको भन्दै विद्यार्थी संगठनले एउटा कर्मचारीको राजीनामा मागेर हिँड्ने काम नगर्ने बताएका छन् ।

महासचिव महरले सो माग अध्यक्षद्वयको व्यक्तिगत हुन सक्ने भन्दै संगठनमा कुनै छलफल र निर्णय नभएको बताए । सो सम्बन्धमा संगठनको आधिकारिक धारण छिट्टै आउने उनले बताएका छन् । अझ उपराष्ट्रपति पुत्र एवं अनेरास्ववियु क्रन्तिकारीका उपाध्यक्ष्य दीपेश पुनले त सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्षद्वयको कार्यलाई ‘सस्तो लोकप्रियता र बजार विज्ञापन’ को संज्ञा दिएका छन । उनले दुई विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयबिना केही साथीहरु प्रतिपक्षी भन्दापनि बढी प्रतिपक्षी भएर हल्काफुल्का रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् । सरकारको मेरुदण्डकै रुपमा रहेको नेपाल प्रहरी संगठनका प्रमुखको राजीनामा माग गर्ने ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भएको बताएका छन् ।

सरकारविरुद्ध चौतर्फी प्रहार भइरहेका बेला सुरक्षा प्रमुखको बर्रास्तीको माग गर्नु सरकार विरुद्धकै कदम भएको भन्दै दुवै संगठनका अन्य नेताहरुले पनि आपत्ति जनाएका छन् र अध्यक्षद्वयलाई पार्टीले अनुशासनहिनताको कारवाही गरिनुपर्ने माग गरेका छन् ।

सांसद नबिना लामाको काभ्रेका गुण्डा नाइके सत्यमान लामासँग कनेक्सन जोडिएको छ । केही महिना अघि गुण्डागर्दी र हप्ता असुलीको आरोपमा काठमाडौं प्रहरीले पक्राउ गरेको २४ घण्टा नबित्दै सांसद लामाकै जमानतमा गुण्डा नाइके लामालाई छुटाएकी थिइन् । तत्कालिन काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले मुद्दा दर्ता भइसकेपछि पनि यिनै नबिनाको जोडबलमा उनलाई छोड्न बाध्य भएका थिए । जसलाई नेपाल प्रहरीको इतिहासमा नै पहिलो घटनाको रुपमा लिएको छ । कुनै पनि अपराधीलाई म्याद थप भइसकेपछि बिना अनुसन्धान छाडिएको थियो । त्यसको सर्वत्र आलोचना भएको थियो ।

पछिल्लो समय तिनै गुण्डानाइके लामालाई महानगरिय अपराध महाशाखाले पक्राउ गरी अदालतबाट म्यादथप गरेपछि उनी प्रहरी प्रति क्रुद्ध थिइन् । गुण्डालाई छुटाउन ज्यान फालेर लागेकी उनी आईजीपी खनालदेखि गृह सचिव प्रेमकुमार राईलाई समेत छोड्न दबाव दिएकी थिइन् । आईजीपी खनालले उनको त्यो मागको सुनुवाई नगरेपछि उनी आईजीपी परिवर्तन कै खेलमा लागेको हुनसक्ने अनुमान गरिएको छ ।

अर्कोतर्फ प्रहरीको बुट खरिददेखि अन्य खरिद कार्यमा पनि व्यापारीसँग मिलेर सांसद लामाले विशेष चासो दिने र आफ्ना निकटका व्यापारीहरुको पक्षमा टेण्डर पार्न दबाव दिने गरेको पनि प्रहरी स्रोतको दावी छ । उनलाई मोहोरा बनाएर प्रहरीकै केही उच्च अधिकृतहरुले आगोमा घिउ थप्ने काम पनि गरेको हुन सक्ने अनुमान एक थरी प्रहरीहरु लगाउँदै छन् । प्रहरी संगठनभित्र गुटबन्दी र एकले अर्कालाई खुईल्याउने धन्दा पुरानै हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार