fbpx

१२ करोड कर्जाको दूरुपयोग गर्ने किष्ट बैंकका पूर्व सिईओ ज्ञवाली पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । कृत्रिम ऋणी खडा गरी जम्को प्रकाशन प्रालिको नाममा १२ करोडभन्दा बढी ऋण लिने तत्कालिन किष्ट बैंकका सिईओ कमल ज्ञावाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ज्ञावालीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ गरेको जानकारी दिएका छन् ।

‘महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरी ल्याएका छौं’, उनले भने, ‘थप विवरण केहीवेरमा सार्वजनिक गर्छौं ।’ उनीसहितको समूहमाथि नेपाल राष्ट्र बैंकको आग्रहमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले अनुसन्धान र कारवाही थालेलगत्तै ज्ञवाली फरार थिए ।

लामो समय नेपाल भारतमा लुकीछिपी हिँड्दै गरेका ज्ञावालीको कर्जा अपचलनबारे हाम्रो टिमले सर्वप्रथम सदावहार साप्ताहिकमा समाचार सार्वजनिक गरेको थियो । जम्को प्रकाशन लगायतका दर्जनौ कृत्रिम कम्पनी खडा गरी ज्ञावाली आफैँले संचालन गरेको किष्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतबाट करोडौं कर्जा लिएर घरजग्गा खरिद बिक्रीको कारोबार गरेका थिए । घर जग्गामा मन्दी आइसकेपछि उनको भित्री धन्दा छताछुल्ल भएको थियो । जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआर्इबी) ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।

०७३ असोज ४ गते उच्च अदालत पाटनले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ४ वर्ष जेल सजाय समेत सुनाएको थियो । राष्ट्र बैंक वादी भई दायर मुद्दामा ज्ञवालीलाई ४ वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो। न्यायधीशहरु किशोर सिलवाल र चण्डीराज ढकालको संयुक्त इजलासले मुद्दा चलाइएका २३ जनामध्ये ८ जनालाई कैद र जरिवानाको फैसला सुनाएको थियो। जम्को प्रकाशन प्रालिलाई कमसल धितो मूल्याङ्कन गरी कर्जा लगानी नीति विपरीत ऋण स्वीकृत गरेको प्रकरणमा अदालतले ज्ञवालीलाई दोषी ठहर गरेको थियो।

डुब्नबाट बँच्यो किष्ट बैंक
प्रबन्ध सञ्चालक ज्ञावालीका कारण डुब्न लागेको किष्ट बैंकलाई गाभेको प्रभु बैंकले भने ०७१ माघ १३ गते कमल ज्ञवालीको बैंकमा रहेको शेयर बेचेर सावाँ–व्याजसहित २३ करोड रुपैयाँ असूल गरिसकेको छ । तत्कालीन प्रभु विकास बैंकले ०७१ भदौ ३० गते किष्ट बैंकलाई गाभेर प्रभु बैंकको नाममा एकीकृत कारोबार गरेको थियो ।

गुल्मीको मध्यम वर्गिय परिवारमा जन्मेका ज्ञवालीले काठमाडौं आएर छोटो समयमै वित्तीय बजारमा चर्चा कमाएका थिए । किष्ट मर्चेण्ट बैंक खोलेर केही वाणिज्य बैंकमा स्तरोन्नति गरेका थिए ।

सञ्चालक र सीइओ दुबैको भूमिकामा रहेका उनले आफ्नी श्रीमति संलग्न रहेको संस्थालाई ऋण दिएर सो ऋण आफैंले घरजग्गा लगायतमा लगानी गरी दुरुपयोग गर्दै आएको तथ्य फेला परेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

ज्ञवालीले जथाभावी ऋण प्रवाह गरेकै कारण तत्कालीन किष्ट बैंक डुब्ने स्थितिमा पुगेको थियो । तर, प्रभु समूहले सो बैंक खरिद गरी खराव कर्जा असुली थालेपछि किष्ट दुर्घटनाबाट जोगिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार