ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर, नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने


Share This

नेपालबहस संवाददाता    

२९ भदौ, काठमाडौं । सरकारले चीन सरकारसँग ऊर्जा क्षेत्रको पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेका अवसरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रको बिस्तृत विकास र विकासका लागि चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ ।

उपप्रधान एवं परराष्ट्रमन्त्रीको केही दिनअघि सम्पन्न चीन भ्रमणका समयमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रअनुसार नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा नेपालको जलविद्युत् क्षेत्रमा थप लगानी भित्रने विश्वास सरकारले लिएको छ ।

यस्तै मुलुकका विभिन्न नदी जलाधार क्षेत्रमा अध्ययन गर्नसमेत उक्त समझदारीपत्रमा भएको हस्ताक्षरपछि मार्ग प्रशस्त भएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्झौता नेपालको सन्दर्भमा महत्वपूर्ण भएको बताए ।

यस्तै विद्युत् उत्पादन कम्पनीले आयोजना विकासका लागि किमाथांका अरुण, जगदूल्ला, फूकोट कर्णाली लगायतका विद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको समेत सो अवसरमा जानकारी दिइयो ।

यस्तै प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा रक्सौल–परवानीपुर र कुशाहा–कटैया १३२ केभी क्षमताको प्रसारण लाइनको संयुक्तरुपमा उद्घाटन भएको समेत सरकारको १०० दिनको प्रगतिमा समेटिएको छ ।

ती दुवै प्रसारण लाइनबाट थप ५०/५० मेगावाट विद्युत् आयात गर्न सकिने र आगामी हिउँदमा हुनसक्ने विद्युत्को उच्च मागलाई सम्बोधन गर्न सकिने सरकारको विश्वास लिइएको छ । ती प्रसारण लाइन विगत छ महिना पहिल्यै निर्माण भएको भए पनि भारतसँग सम्झौता नहुँदा विद्युत् आयात गर्न सकिएको थिएन । प्रधानमन्त्रीको भारत भ्रमणपछि ती प्रसारण लाइनको उद्घाटन गरिएको हो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार