काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान, सिंहको स्मृतिमा दिप प्रज्वलन


Share This

नेपालबहस संवाददाता    

४ असोज, काठमाडौं । नेपाली काँग्रेसले आगामी असोज १९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महान् चाड दशैँ, तिहारको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

कार्यक्रम कोजाग्रत पूर्णिमाको दिन दिउँसो १ देखि ४ बजेसम्म हुनेछ । उक्त कार्यक्रममा भाग विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि तथा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको मुख्यसचिव पौडेलले बताए ।

राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै विसं २०३३ मा काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले नेपालीका बीचमा आपसी सद्भाव अभिवृद्धि गर्दै राष्ट्रियतालाई मजबुत पारेर सबै नेपालीलाई राष्ट्रनिर्माणमा सरिक हुने अवस्था सिर्जना गर्नका लागि आरम्भ गरेको शुभकामनालाई यस वर्ष पनि काँग्रेसले निरन्तरता दिन लागेको हो ।

काँग्रेसले गत वर्ष पार्टीका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थिएन ।

गणेशमानको सम्झनामा दीप प्रज्वलन

नेपाली काँग्रेसका सर्वोच्च नेता स्व गणेशमान सिंहको २० औं स्मृति दिवसका अवसरमा सोमबार साँझ पोखरामा दीप प्रज्वलन एवं उनको शालिकमा माल्यार्पण गरिएको छ ।

नेपाली काँग्रेस कास्कीको आयोजनामा स्व सिंहको स्मृतिमा पोखरा लेखनाथ महानगरपालिका नालाको मुखस्थित गणेशमानको शालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गरिएको हो ।

उक्त समारोहमा कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्व सभापति सोभियतबहादुर अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीलगायतले शालिकमा माल्यार्पण र मैनबत्ती प्रज्वलन गरेका थिए ।

कार्यक्रममा वक्ताले नेपालको प्रजातन्त्रिक आन्दोलनमा स्व गणेशमान सिंहले गरेको योगदान अतुलनीय भएकोमा जोड दिए ।

प्रत्येक राजनीतिज्ञका लागि स्व गणेशमानले देखाएको अदम्य साहस र त्याग अनुकरणीय भएको उल्लेख गर्दै वक्ताले उनका विचार र आदर्शलाई सबैले आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरे ।

सो कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार