बृहत् लोकतान्त्रिक गठबन्धन कार्यदलको सदस्य चयन


Share This

नेपालबहस संवाददाता    

२० असोज, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको नाम टुंगो लागेको छ ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा बुधबार काँग्रेससहित छ दलले लोकतन्त्र, राष्ट्रवादी र परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका थिए ।

आवश्यक गृहकार्य गर्न बनेको कार्यदलमा काँग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे रहेको काँग्रेस नेता डा रिजालले बताए ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका छन् ।

गठबन्धनबाट देशले बलियो प्रतिपक्ष पाउने आशा
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वामपन्थी र लोकतान्त्रिक गठबन्धनमध्येबाट देशले अब बलियो एक प्रतिपक्ष प्राप्त गर्ने आशा गरेको बताएका छन् ।

सेवानिवृत्त शिक्षक समाज भक्तपुरद्वारा आयोजित कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउन बलियो प्रतिपक्ष आवश्यक हुने र अहिलेको निर्वाचनले त्यो पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए ।

अध्यक्ष बिजुक्छेले चुनावलाई केन्द्रित गरेर वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनाइएको हो भने यसले देशको दीर्घकालीन राजनीतिमा कुनै असर र प्रभाव नपार्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा उनले सेवानिवृत्त भएका भक्तपुरका छ जना वरिष्ठ शिक्षक शिक्षिकालाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै समाजद्वारा प्रकाशित ‘शैक्षिक अनुभव’ नामक पुस्तकको पनि विमोचन गरे ।

लोकतन्त्र, राष्ट्रवादी र प्रगतिशील सबैलाई समेट्ने काँग्रेसको निर्णय
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी गठबन्धनमा लोकतन्त्र, परिवर्तन पक्षधर, राष्ट्रवादी र प्रगतिशील सबै दललाई वृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध गर्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको हिजो बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने सम्बन्धमा छलफल भएको नेता एनपी साउदले जानकारी दिए ।

बैठकले असोज २० गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका कार्यसूचीसमेत तय गर्नुका साथै निर्वाचनमा अन्य दलसँग चुनावी मोर्चा बनाउने सम्बन्धमा निर्णय गरेको नेता साउदले बताए ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताको सहभागिता थियो ।

प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले मंगलबार प्रमुख विपक्षी दल नेकपा (एमाले) सँग चुनावी गठबन्धन गर्न र पार्टी एकताका लागि पहल गर्ने सहमति गरेपछि काँग्रेसले लोकतान्त्रिक मोर्चा गठन गर्ने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार