निःशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परीक्षण, मिर्गौला रोगीलाई रु १० लाख सहयोग


Share This

नेपालबहस संवाददाता    

२३ असोज, काठमाडौं । पर्वत जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म सञ्चालित मुटुरोग परीक्षण शिविरमा झण्डै ८०० जनाको मुटु परीक्षण गरिएको छ ।

जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिकास्थित देवीस्थानमा छुट्टाछुट्टै शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त संख्याका बिरामीको परीक्षण गरिएको हो ।

आइतवार कुश्मामा सञ्चालित शिविरमा झण्डै ५०० र शनिबार फलेवासमा सञ्चालित शिविरमा २५० भन्दा बढीको परीक्षण गरिएको आयोजक लायन्स क्लब अफ शिवालयले जनाएको छ ।

पर्वत समाज बेल्जियमको आर्थिक सहयोग, लायन्स क्लब अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउ काठमाडौँको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरबाट कुश्मा नगरपालिकालगायत बागलुङ जिल्लाका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको कार्यक्रम संयोजक डिआर शर्माले जानकारी दिए ।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईको नेतृत्वमा २० जना मुटुरोग विशेषज्ञ डाक्टरले बिरामीको निःशुल्क मुटु परीक्षण गरेका थिए । शिविरमा उच्च रक्तचापका बिरामी बढी देखापरेका छन् । मुटुरोगीमध्ये अधिकांश उच्च रक्तचाप, धुम्रपान, मोटोपना भएका हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भट्टाराईले बताए ।

दैनिक व्यायामले रोग न्यूनीकरणमा सघाउने उहाँको भनाइ छ । छाती दुख्ने, ढक्क फुल्ने वा भारी हुन सास फेर्न कठिन हुने, धेरै पसिना आउनेजस्ता लक्षण देखापर्नासाथ समयमै चेकजाँच गर्न उहाँले सल्लाह दिए। शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

उक्त शिविरको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गरेका थिए । उनले मुटु हाम्रो अभिन्न अंग भएकाले यसको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, युरोप संयोजक कुल आचार्य, एनआरएनएका सचिव अर्जुनकुमार श्रेष्ठ, बेल्जियम समाज पर्वतका अध्यक्ष झलक केसीलगायतले मन्तव्य राखेका थिए ।

उक्त शिविरलाई सहयोग पु¥याउने उद्देश्यले एनआरएनएका युरोप संयोजक कुल आचार्यले रु एक लाख सहयोग गरेका थिए ।

मिर्गौला रोगीलाई रु १० लाख सहयोग

दुवै मिर्गौला बिग्रिएर सहयोगको प्रतिक्षामा रहेका चितवनको खैरहनीका हरेराम महतोको उपचारका लागि देश विदेशबाट रु १० लाख बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

चितवनकोे सिर्जनशील थारु समाजले शुरु गरेको ‘हरेराम बचाउ अभियान’ मार्फत अहिलेसम्म करिब रु १० लाख सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष कारी महतोले जानकारी दिए ।

वैदेशिक रोजगारको क्रममा साउदी अरब पुगेका चितवनको खैरहनी नगरपालिका–१ बहेराका हरेराम महतोको दुवै मिर्गौला काम नलाग्ने भएपछि उनी घर फर्किएका थिए ।

३५ वर्षीय हरेराम महतोको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । डाइलासिस भने चितवनको भरतपुर अस्पतालमा भइरहेको छ । उनको उपचारका लागि आएको सम्पूर्ण रकम रु १० लाख ४० हजार परिवारलाई हस्तान्तरण गरिएको र अझै सहयोग आउने क्रम जारी रहेको अभियन्ता कारी महतोले बताए ।

उनको उपचारका लागि पोर्चुगलबाट रु दुई लाख, दक्षिण कोरियाबाट रु ८० हजार, अष्ट्रेलियाबाट दुई पटक गरी रु ७५ हजार, अमेरिकाबाट रु एक लाख ३५ हजार, क्यानडाबाट रु ४० हजार तथा साउदी, युएई, कतार र मलेसियामा रहेका नेपालीबाट उक्त रकम सहयोग भएको हो ।

पाँच महिना अघि बिरामी भएका उनलाई आफ्नै श्रीमती विन्दुले मिर्गौला दिने तयारी गरिएको छ । उनको मिर्गौला प्रत्यारोपणको तयारी गरिए पनि हेमोग्लोविन कमी भएकाले हुन नसकेको चिकित्सकको भनाइ उद्धृत गर्दै हरेराम महतोले जानकारी दिए । उपचारका लागि आर्थिक सहयोग गर्नुहुने सबैलाई उनले धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार