काँग्रेस संसदीय समिति गठन, नेत्री आरजु बर्दिया–२ बाट उम्मेदवार


Share This

नेपालबहस संवाददाता    

२४ असोज, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न संसदीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी आज संसदीय समिति गठन गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए । यद्यपि, समितिमा रहेका नाम भने सार्वजनिक गरिएको छैन ।

यही असोज २० गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार चयन गर्न पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गरेको थियो ।

केन्द्रीय समिति बैठकले यही आश्विन २७ गतेभित्र प्रदेश सभा र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाइसक्ने निर्णय समेत गरेको थियो ।

पार्टीको विधानको दफा ३१ मा केन्द्रीय समितिले आफूमध्येबाट एक संसदीय समिति गठन गर्न सक्ने प्रावधान छ । विधानतः समितिमा सभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुन्छन् भने केन्द्रीय समितिले बढीमा आठ जनासम्म सदस्य चयन गर्न सक्ने प्रावधान छ ।

समितिलाई पार्टीका तर्फबाट संसदको निर्वाचनमा उम्मेदवार चयन गर्ने र केन्द्रीय समितिमा पेश गर्ने अधिकार तोकिएको छ ।

नेत्री आरजु देउवा बर्दिया २ बाट सिफारिस

नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवा बर्दिया जिल्लाको क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्वत सिफारिस भएको छ ।

नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्बर २ तथा जिल्ला कार्य समिति बर्दियाले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा डा देउवासहित किशोर राठौर, अरुण राठौर र मालती सोडरीको नाम सिफारिस गरेको हो ।

त्यसैगरी समानुपातिकतर्फ नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको नाम सिफारिस गरेको नेपाली कांग्रेस बर्दियाले जनाएको छ ।
–––

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार