यस्तो छ, छठ पर्वको महिमा


Share This

नेपालबहस संवाददाता    

६ कात्तिक, काठमाडौं । महोत्तरीसहित मुलुकका विभिन्न भागमा श्रद्घा र निष्ठापूर्वक मनाइने छठ पर्व आज ‘अरबा–अर्बाइन’ विधिसँगै शुरु भएको छ ।

सामान्यतया कात्तिक शुक्ल चौथीदेखि पर्व विधिवत् शुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तु खान छाडेर व्रतको संकल्प गरिने ‘अरबा–अर्बाइन’ विधिसँगै व्रतालुले छठको तयारी शुरु गरेका हुन् ।

अरबा–अर्बाइन गरेका व्रतालुले चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिमा राति एकछाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिइने ‘सझुका अरख’ (सझिंया–घाट) दिएर सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएर ‘भोरका अरख’ विधि सम्पन्न गर्दै यो पर्व समापन गरिने परम्परा छ ।

षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिनसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल व्रतालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गरेका छन् । उपासकको इच्छित माग पूर्ति गर्ने भगवान् सूर्यको उपासनाले सन्तान सुख र रोगब्याधी नलाग्ने हिन्दू परम्पराको मैथिल जनविश्वास छ । यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठका सहप्राध्यापक ध्रुव राय बताउँछन् ।

बिशेषगरी ‘षष्ठी’ तिथिकै स्मरणमा मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेकाले सूर्यकी पत्नी मानिने षष्ठीको आराधना सूर्यसँगै गरिएको मैथिल विद्वान्को भनाइ छ । मुख्यतः सूर्यकै उपासना व्रतको अभीष्ट भए पनि ‘षष्ठी’ (छठी) को पुकारा गर्दा सूर्य चाँडै प्रसन्न हुने विश्वासले पर्वमा गाइने गीतमा छठी माईको प्रसंग गाभिएको सहप्रध्यापक राय बताउँछन् ।

एक फरक प्रसंगमा दैत्यराज त्रिपुरासुरले दुःख दिएर आहत भएका देवताले शिव–पार्वतीसँग उसलाई मार्न सक्ने छोरा दिन प्रार्थना गरेपछि भगवान् शिवको विर्यपात भएको र विर्य समुद्रमा परेर पानीमै विकास भएको शिशुलाई षष्ठी देवीले कात्तिक शुक्ल षष्ठी तिथिकै दिन स्याहार सम्भार गरेर शिव–पार्वतीलाई जिम्मा लगाएकाले सन्तानको कल्याण गर्ने देवीका रुपमा समेत यस पर्वमा छठी माईको महत्ता गाइने गरिएको जनश्रुति छ । पछि यिनै बालक स्वामी कार्तिकेयका नामले चिनिएका र उनैले त्रिपुरासुरको बध गरेका मार्कण्डेय पुराणमा उल्लेख रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता पूर्व प्रशासक जलेश्वर–४ का बासिन्दा कृष्णचन्द्र झाले बताए ।

यसैगरी पर्वबारे द्वापरकालीन जनश्रुति पनि चर्चामा रहने गरेको छ । द्वापर युगमा भगवान् श्रीकृष्णका छोरा साम्बलाई कुष्ठरोग हुँदा पिता श्रीकृष्णको प्रेरणाले सूर्यको उपासनाबाट रोग निको भएपछि यो व्रतको परम्परा शुरु भएको विश्वास गर्दै आइएको महोत्तरी मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठका पूर्व प्राचार्य प्राध्यापक ताराकान्त झाले बताए ।

यो पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएको यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीहरुले समेत धुमधामसँग मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्घिजीवीको भनाइ छ ।

छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ ?
लोक आस्थाको महान् पर्व छठ भोलिदेखि विधिवत् रुपमा शुरु हुँदैछ ।

कात्तिक शुक्ल चतुर्थी तिथिदेखि शुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गरेपछि विधिवत् रुपमा यो पर्व सम्पन्न हुन्छ ।

यस पर्वका वर्तालुले चतुर्थी तिथिमा घरको पूजास्थललाई पवित्रताका साथ सफासुग्घर गरी स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ । पञ्चमीका दिन ‘खरना’ गरिन्छ । यस अवसरमा वर्तालु दिनभर उपवासमा बसेर बेलुकी नयाँ माटोको चुलोमा खीर पकाउँछन् ।

घरमा पूजापाठको क्रममा सोही खीर देवीदेउतालाई चढाइन्छ । सो खीर प्रसादका रुपमा आफू पनि ग्रहण गरिने र परिवार सदस्यका बीचमा वितरण गरिन्छ । सो प्रसाद ग्रहण गरेपछि वर्तालु महिलाको पुनः उपवास शुरु हुन्छ । लगातार ३६ घण्टाभन्दा बढी समयसम्म उपवास गरेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गरेपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।

छठ पर्व किन मनाइन्छ ?

सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।

छठ माता को हुन ?

छठ माता को हुन ? भनेर विभिन्न प्रकारका विचारधारा देखिएको भए पनि यस विषयमा श्रीमद्देवी भागवत् पुराणमा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

सो पुराणको नवौँ स्कन्धमा भगवती षष्ठीको महिमाको प्रसंग शीर्षकमा राजा प्रियव्रतको कथामा उल्लेख गरिएको हो । सो पुराणमा उल्लेख गरिएको छ, “राजा प्रियव्रतलाई सन्तान थिएन् । सन्तानका लागि राजाले यज्ञ गरे । महर्षि कश्यपले यज्ञको लागि पकाइएका खीर रानी मालिनीलाई प्रसादको रुपमा खान दिनुभयो । त्यो खीर ग्रहण गरेपछि निर्धारित समयमा रानीले पुत्रको जन्म दिनुभयो तर, पुत्र मृत अवस्थामा जन्म लिए ।”

मृत सन्तान जन्मे खवरले राजा विह्वल भए । मृत सन्तानको अन्तिम संस्कार गर्ने क्रममा राजा श्मशानघाटमै प्राण त्याग गर्न खोजे । सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भइन् । राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै “म, ब्रह्माकी मानस पुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृतिबाट मेरो उत्पत्ति भएको हो । सोही कारणले मलाई षष्ठी पनि भनिन्छ ।” उनले राजाको मृत बच्चालाई काँखमा उठाएर जीवित पारेका थिए भन्ने किंवदन्ती पाइन्छ ।

त्यसपछि, देवीले मेरो पुजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनु । मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र घरबाट दरिद्रताको अन्त्य हुने उपदेश दिएका थिए ।

कात्तिक शुक्ल षष्ठी तिथिमा सो घटना भएकाले सोही तिथिबाट छठपर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ । षष्ठी शब्दको अपभ्रंश हुँदै छठी पर्वको रुपमा परिणत भएको विश्वास गरिन्छ ।

छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ ?

भगवान् राम १४ वर्षको बनवासको अवधिमा रावणको बध गरेका थिए । सो अवधि पूरा हुनासाथ कात्तिक औँशीको तिथिमा अयोध्या फर्केको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ । सोही दिन अयोध्यामा दीपावली मनाइएको थियो । दीपावलीको आठौँ दिनमा छठ पूजा हुने गरिन्छ । भगवान् राम अयोध्या फर्केपछि राज्यकाज सञ्चालन गर्नुभन्दा पहिले ब्राह्मण (रावण) हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएको थियो ।

अविलम्ब राजकाज सञ्चालन गर्ने भएकाले नै सोही अवधिभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्राह्मण हत्याको पापबाट मुक्त हुनुभएको थियो । सोही तिथिमा छठ पूजासँगै सूर्यको पूजा पनि गर्न थालिएको विश्वास गरिन्छ । यी दुइटै महत्वपूर्ण घटना एउटै तिथिमा भएकाले षष्ठी माता र सूर्यको उपासना गरी पर्व सम्पन्न गरिन्छ ।

यसका साथै, रोगग्रस्त, सन्तानहीन, अल्पायुमा मृत्युलगायतका कष्टमा रहेका मानिसको दुःख नाशको के उपाय रहेको सम्बन्धमा सर्वशास्त्रज्ञ शौनकमुनिले सूतजीसमक्ष जिज्ञासा राख्नुभएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सोही अवसरमा उपस्थित भीष्म पितामहले पुलस्त्यमुनिबाट प्राप्त जानकारी सुनाउन थाल्नुभयो । सोही क्रममा उहाँले एउटा दुष्ट क्षेत्रीय राजा कुष्ठ र क्षयरोगबाट ग्रसित थियो । सो कष्टबाट मुक्ति पाउनका लागि उनले मृत्युलाई वरण गर्नु नै उत्तम उपाय ठाने र सोही समयमा एक विद्वान् ब्राह्मण दरबारमा पुगेका छन् ।

राजाले उहाँसमक्ष आफ्नो स्वास्थ्यका साथै कतिपय प्रजा पुत्रविहीन रहेको, सन्तान अल्पायुमा मर्ने, पतिले पत्नी त्याग गर्नेलगायतका दुःखको अन्त्यको समाधानको उपाय खोज्न निवेदन गरे ।

विद्वान् ब्राह्मणले यी सबै कष्टको निवारण सूर्यदेवको उपासनाबाट मात्र सम्भव रहेको बताउँदै कात्तिक शुक्ल पञ्चमी(खरना)देखि अस्ताउँदो र उदाउँदो सूर्यको पूजाको सम्बन्धमा विस्तारमा जानकारी गराएका थिए । राजाका साथै प्रजाले सोही तिथिमा सूर्यदेवको पूजा गरेपछि कष्टबाट मुक्त भएको विश्वास छ ।

यो पर्व कृषिमा आधारित पर्वको रुपमा रहेको देखिन्छ । यस पर्वमा नयाँ बाँसको टोकरी, कोनियाँ, पंखाका साथै प्रसादका रुपमा केरा, उखु, फलफूल, पान, सुपारी, भण्टा, मूला, सुथनी, अँकुरी, अलुवा, जुटा र पकवानको रुपमा ठेकुवा, भुसुवा र मिठाई प्रसादको रुपमा चढाउने गरिन्छ ।

अस्ताउँदो सूर्यलाई अघ्र्यको रुपमा चढाइएका प्रसाद पुनः उदाउँदो सूर्यलाई अर्पन गर्न सकिन्छ वा नयाँ पकवान अघ्र्यको रुपमा अर्पन गरिन्छ । तर, उदाउँदो सूर्यलाई अघ्र्य अर्पन नगरेसम्म प्रसाद वितरण गर्न पाइँदैन ।

यो पर्व नियम निष्ठा एवं पवित्रताका साथ मनाउने पर्वको रुपमा रहेको छ । यो पर्व खासगरी राखिएका भाकल पूरा भएपछि मात्र गर्ने गरिन्छ । एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार