३२ जिल्लामा आज चुनाव प्रचारप्रसारको अन्तिम दिन


Share This

नेपालबहस संवाददाता    

७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा गरेको छ । हिमाली र उच्च पहाडी ३२ जिल्लामा १० मंसिरमा निर्वाचन हुँदै छ । जसबाट प्रतिनिधिसभाका लागि ३७ र प्रदेश सभाका लागि ७४ सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगका अनुसार ३२ जिल्लामा ४ हजार ४६५ मतदान केन्द्र छन् । प्रदेश १ मा १ हजार २५, ३ मा १ हजार २४६, ४ मा ८१७, ५ मा २०२, ६ मा ६०४ र ७ मा ५७१ मतदान केन्द्र छन् ।

पहिलो चरणको निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार हो । आयोगका अनुसार राति १२ बजेबाट ४८ घन्टे मौन अवधि सुरु हुनेछ । मौन अवधिमा उम्मेदवार, नागरिक समाज, मतदाता निर्वाचन प्रचारप्रसारमा संलग्न हुन पाउँदैनन् । सञ्चारमाध्यमले निर्वाचन प्रसारप्रचारसँग जोडिएको समाचार प्रकाशन तथा प्रसारण गर्न पनि पाउँदैनन् । तर, दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रचारप्रसार जारी रहेकाले मतदातामा प्रभाव पर्ने गरी प्रकाशन तथा प्रसारण नगर्न आयोगले सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

झन्डै ३२ लाख मतदाता

पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाता छन् । तीमध्ये पुरुष १५ लाख ८६ हजार ५०२ र महिला १६ लाख ५ हजार ४२८ छन् । प्रदेश नम्बर १ मा ७ लाख १९ हजार १७३, ३ मा १० लाख १ हजार ४० मतदाता छन् । त्यस्तै, ४ मा ५ लाख ६३ हजार २४, ५ मा १ लाख ५५ हजार ५५७, ६ मा ३ लाख ६८ हजार २०७ र ७ मा ३ लाख ८४ हजार ९४१ मतदाता छन् ।

४५ हजार कर्मचारी परिचालन

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार पहिलो चरणको निर्वाचनमा कम्तीमा पनि ४५ हजार कर्मचारी परिचालन हुनेछन् । उनका अनुसार बुधबार बेलुकासम्म सबै कर्मचारी मतदानस्थलमा पुगिसके । बिहीबारबाट मतदान केन्द्रको व्यवस्थापन सुुरु हुनेछ ।

म्यादीसहित ८५ हजार सुरक्षाकर्मी

निर्वाचनमा २५ हजार नेपाल प्रहरी, १२ हजार सशस्त्र प्रहरी र करिब २३ हजार म्यादी प्रहरी खटिनेछन् । त्यस्तै करिब ५ सय राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन् । सेनाले पनि स्थानीय प्रशासन ऐनअन्तर्गत निर्वाचनमा सघाउने गरी करिब २० हजार सैनिक खटाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

आयोगको तयारी पूरा : प्रवक्ता ढकाल

निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरेको छ । टाढाका मतदान अधिकृत खटिइसकेका छन् । नजिकका क्षेत्रमा खटिने क्रममा छन् । अब मतदानस्थलको व्यवस्थापन बिहीबारबाट सुरु हुन्छ । निर्वाचनका सम्पूर्ण सामग्री सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।

सुरक्षामा ढुक्क हुनुहोस् : नारायणप्रसाद दवाडी, प्रवक्ता, गृह मन्त्रालय

गृह प्रशासनले पहिलो चरणमा हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाएको छ । निर्वाचनविरोधी केही घटना भए पनि तत्काल नियन्त्रणमा लिएका छौँ । घटनामा संलग्न केही पक्राउ पनि परेका छन् । सुरक्षा व्यवस्था मजबुत बनाएर मतदाताले ढुक्कसँग मतदानमा सहभागी हुने वातावरण बनाएका छौँ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार