निर्वाचन आयोगको प्रारम्भिक रिपोर्ट : स्थानीय निर्वाचनमा १० प्रतिशत कम मतदान


Share This

नेपालबहस संवाददाता    

 

११ मंसिर, काठमाडौं । संघ तथा प्रदेशसभा सदस्य चयनका लागि हिजो सम्पन्न पहिलो चरण चुनावमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको छ । प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि ३२ जिल्लामा हिजो पहिलो चरणको निर्वाचन भएको थियो । केन्द्रीय सरकारबाट जनताका अधिकार नियन्त्रित भएको भन्दै विभिन्न आन्दोलनपछि नेपाल संघीय संरचनामा गएको हो । प्रदेश सभाको अभ्यास नेपालले पहिलोपटक गर्दै छ ।

प्रदेश सभा सदस्यका लागि पहिलो चरणमा ७४ सांसद निर्वाचित हुँदै छन् भने प्रतिनिधिसभाका लागि ३७ सांसद निर्वाचित हुनेछन् । बाँकी ४५ जिल्लाबाट २५६ प्रदेश सभा सदस्य र १२८ प्रतिनिधिसभाका सांसद निर्वाचित हुनेछन् । यी निर्वाचनसँगै नेपालको राजनीतिक संक्रमण पनि अन्त्य हुनेछ ।

निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रारम्भिक रूपमा ६५ प्रतिशत मत खसेको छ । ४४ सय ६५ मतदान केन्द्रमध्ये दुईवटा केन्द्रमा बाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याइनेछ । आयोगका अनुसार संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छन् ।

 

दुई मतदान केन्द्रमा मतदान स्थगित

पश्चिम रुकुमका दुईवटा केन्द्रमा मतदान स्थगित भएको छ । बाँफिकोट गाउँपालिका–५ काँडाको रत्न आधारभूत विद्यालय मतदानस्थलको (क) मतदान केन्द्र र आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि मतदानस्थलको (ख) मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।

मतपत्रमा एसिड हाल्दा मतपेटिकामा आगलागी भएपछि तत्कालका लागि ती दुई मतदान केन्द्रमा मतदान स्थगित भएको बताइएको छ । एसिड खसालिएका मतपेटिका नखोलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हुम्लाको मेखालामा ६ मत खस्यो

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हुम्लाको रारा आधारभूत मेखाला मतदान केन्द्रमा ६ मत खसेको छ । हुम्ला चंखेली गाउँपालिका–३ मेखालामा आइतबार अपराह्न ४ बजेपछि ६ जनाले मतदान गरेका हुन् ।

गाउँकै रारा प्राविमा मतदान केन्द्र राखिए पनि ४ बजेपछि मात्रै ६ जनाले मतदान गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । स्थानीय तहको पुनर्संरचनाको विषयलाई लिएर असन्तुष्ट भएकाले स्थानीय मतदान गर्न नआएको उनले बताए । सो मतदान केन्द्रमा ११९ मतदाता छन् ।

बैतडीमा ११४ वर्षीया वृद्धाले गरिन् मतदान

बैतडी सुर्नया गाउँपालिकाकी ११४ वर्षीया पशुपति साउदले मतदान गरेकी छिन् । उनी जिल्लाकै ज्येष्ठ मतदाता हुन् ।

सुर्नया गाउँपालिका–८, काठमाणाकी साउदले आइतबार दिउँसो ढोल्या मतदान केन्द्रबाट मत हालेकी हुन् । हिँड्न नसक्ने उनलाई कान्छा छोरा प्रतापले पिठ्युँमा बोकेर ल्याएका
थिए ।

छोराको सहयोगमा उनले मतपेटिकामा मत खसालिन् । एक वर्षभित्रै स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मत हाल्न पाउँदा उनी निकै नै खुसी देखिएको आजको नयाँ पत्रिकामा खबर छ ।

सिन्धुपाल्चोक, रुकुम, भोजपुर, दार्चुला र बाजुराका केही मतदान केन्द्रमा झडप भए पनि मतदान कार्य शान्तिपूर्ण रूपमा नै सम्पन्न भएको आयोगले जनाएको छ । मतदानस्थलमा वृद्धवद्धा, सुत्केरी र युवाको लामो पंक्ति उपस्थित देखिन्थ्यो ।

यसअघि तीन चरणमा सम्पन्न स्थानीय तह चुनावमा ७३ प्रतिशत मत खसेको थियो । २०७० को दोस्रो संविधानसभामा ७० प्रतिशत, ०६४ को संविधानसभा निर्वाचनमा ६१ दशमलव सात प्रतिशत, ०५६ सालको निर्वाचनमा ६५ दशमलव आठ र ०५१ को निर्वाचनमा ६१ दशमलव आठ र ०४८ सालको निर्वाचनमा ६५ दशमलव १४ प्रतिशत मत खसेको थियो ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, रुकुम ९पूर्वी भाग०, रुकुम ९पश्चिम भाग०, रोल्पा, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी गरी ३२ जिल्लामा मतदान भएको हो ।

दुई मतदान केन्द्रको स्थागित

आयोगका अनुसार रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका ११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगजनी भएकाले मतदान कार्य स्थगित भएको छ

स्थगित भएका मतदान केन्द्रमा मुख्य निर्वाचन अधिकृतले छिट्टै पुनः मतदानको व्यवस्था मिलाउने छन् ।रुकुम पश्चिमको बाँफिकोट ५ स्थित रत्न आधारभूत विद्यालय केन्द्रमा रहेको एउटा मतपेटिका र आठबीसकोट ११ स्थित नेपाल राष्ट्रिय मावि केन्द्रको एक मतपेटिकामा आगजनी भएको छ ।

आठबीसकोटमा घटनालगत्तै कांग्रेसका उम्मेदवारका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँफिकोटको रत्न आधारभूत विद्यालयको मतपेटिकामा भने मतदाताले एसिड हालेको आशंका गरिएको छ । उक्त मतपेटिकामा दुई सय ५० मत खसेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगले मतदान प्रक्रियाको अनुगमन गर्दा रोल्पा, रुकुम, बझाङ, भोजपुर, नुवाकोट, गोरखालगायत जिल्लामा बम विस्फोटका केही घटना भए पनि मानवीय क्षति नभएको जनाएको छ । ताप्लेजुङ, धादिङ, बागलुङ, दार्चुलालगायत जिल्लास्थित केही मतदान स्थल नजिकै विस्फोटक पदार्थ भेटिएको, बाजुरा, दोलखा, जाजरकोट, ओखलढुंगा र सिन्धुपाल्चोकमा दलका कार्यकर्ताबीच झडप हुँदा केही घाइते भएको आयोगले जनाएको छ ।

दोलखा, बाजुरा र सिन्धुपाल्चोक जिल्लामा झडप नियन्त्रण गर्न सुरक्षाकर्मीद्वारा हवाई फायरसमेत भएको थियो ।छिटफुट घटना, चिसो मौसम तथा भौगोलिक विकटताका बाबजुद मतदाता मताधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगेको आयोगले अनुगमनका क्रममा पाएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

चंखेली र तिङ्लामा बहिस्कार

प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन आइतबार ३२ जिल्लामा सम्पन्न भएको छ । सोलुखुम्बुको तिङ्लाका मतदाताले भने मतदान नै बहिष्कार गरेका छन् ।

सो जिल्लाको नेचा सल्यान–६, तिङ्लाका मतदाताले स्थानीय तहको सीमांकनप्रति असन्तुष्टि जनाउँदै मतदान बहिष्कार गरेका हुन् । उनीहरूले स्थानीय तहको निर्वाचन पनि बहिष्कार गरेका थिए ।

गाउँपालिकाको सीमांकनको विरोधमा उनीहरूले चुनाव बहिष्कार गरेका हुन् । गत साता मात्र तिङ्लावासीको बृहत् भेलाले ‘नो भोट’ को नारासहित चुनाव बहिष्कार गर्ने निर्णय गरेको थियो । स्थानीय तहमा भने उनीहरूले ‘नो भोट, नो क्यान्डिडेट’ नारा राखेका थिए । अहिले तिङ्ला वडाध्यक्षविहीन अवस्थामा छ ।

साविकको तिङ्ला गाविसलाई स्थानीय तह निर्धारण गर्दा नेचा सल्यान गाउँपालिकामा राखिएको थियो । गाउँपालिकाको केन्द्र नेचा बेतघारीमा राखिएको छ । तिङ्लादेखि केन्द्र पुग्न ६ घण्टा लाग्ने गर्छ ।

तिङ्लावासीले आफूसँगैको दूधकुण्ड नगरपालिकामा जोडिन चाहेका थिए । जिल्लास्थित प्राविधिक समितिले पनि त्यस्तै सिफारिस गरेको थियो, जहाँ उनीहरूलाई पुग्न सहज हुन्थ्यो । तर स्थानीयको मागलाई स्थानीय तह निर्धारण समितिले सम्बोधन नगरेपछि उनीहरू निरन्तर आन्दोलनमा छन् ।

उनीहरूले आन्दोलनकै स्वरूपमा स्थानीय तहको निर्वाचन बहिष्कार गरेका थिए । ‘जिल्लादेखि काठमाडौंसम्म धाएर आफ्ना कुरा निरन्तर राखियो, प्रमुख दलका नेतालाई भेटेर गुनासो ग¥यौं तर सुनुवाइ भएन,’ स्थानीय वासिन्दा तिङ्ला सरोकार समिति संघर्ष समितिका सचिव प्रकाश कार्कीले भने ।

यस वडामा २ हजार ४ सय ७६ मतदाताछन् । यहाँ मतदानका लागि पाँचवटा मतदान केन्द्र कायम गरिएको थियो । यहाँ निर्वाचन आयोगका कर्मचारीले मतदानका लागि सबै तयारी गरे । मतदान केन्द्र तयार गरे । सुरक्षाकर्मी पनि परिचालित भए । दिनभर निर्वाचनका कर्मचारी कुरेर बसे । तर, मतदानमा सहभागी हुन मतदाता नै गएनन् ।

५७ मतदाता, १६ मत

यता, जिल्लाको फत्ताङलुङ गाउँपालिकास्थित याङ मतदान केन्द्रमा जम्मा १६ मतदाताले मतदान गरेका छन् । ताप्लेजुङस्थित राजधानीकर्मी सुवास आचार्यका अनुसार ५७ जना मतदाता रहेको जिल्लाको फत्ताङलुङ गाउँपालिकास्थित याङमा मतदान केन्द्रमा १६ जना मतादाताले मात्र मतदान गरेका हुन् ।

याङमाको प्रमुख व्यवसाय पशुपालन भएकाले हिमालमा निकै चिसो बढेका कारण गोठ लिएर तल्लो क्षेत्र झरेकाले मतदाता कम भएको हुन सक्ने ओलाङचुंगोलाका छेतेन वालुङले बताए । जिल्ला सदरमुकाबाट २६ कोसमा रहेको याङमा पुग्न फुङलिङबाट लगातार तीन दिन हिँड्नुपर्छ । नजिकै रहेको ओलाङचुंगोला बस्तीमा आइपुग्न पनि एक दिन हिँड्नुपर्छ । याङमा ताप्लेजुङको सबैभन्दा लामो दूरीमा पर्ने मतदान केन्द्र हो । यहाँ ११ घरधुरीको बसोबास रहेको छ । यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले सञ्चार सम्पर्क हुन नसकेका क्षेत्रको तथ्यांक आउन बाँकी रहेको र सम्पर्क भएका क्षेत्रको तथ्यांकले ६५ प्रतिशत हाराहारी मतदान भएको अनुमान गरिएको बताए ।

हुम्लाको चंखेली गाउँपालिकाको रारा प्रमावि मेलामा रहेको मतदान केन्द्रमा मतदाताहरूले समेत मतदान बहिष्कार गरेका छन् । स्थानीय तहमा वडा विभाजनमा मतादाताहरू आफूलाई पक्षपात गरेको भन्दै मतदान बहिष्कार गर्ने निर्णय गरेका थिए । त्यहाँ ११९ मतदाता रहेका छन् ।

२८ मतदाता, १८ मत

बाजुराको हिमालभक्ति प्रावि मतदान केन्द्रमा १८ जनाले मतदान गरेका छन् । यहाँ २८ जना मतदाता रहेका छन् । १० जना मतदाता दिउँसो १ बजेसम्म पनि नआएपछि मतदान सकिएको घोषणा गरिएको थियो । त्यस्तै, गोरखाको चुमनुब्री–१ साम्दामा ६६ मत खसेको छ । तिब्बतसँग सिमाना जोडिएको साम्दाको साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा ७७ जना मतदाता रहेको सो केन्द्रमा ६६ मत खसेको आजको राजधानीमा खबर छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार