प्रम देउवाले पूर्वमा समृद्धिका लागि काँग्रेस भनिरहँदा पश्चिममा ओलीले घन्काए विकासका नारा


Share This

नेपालबहस संवाददाता    

११ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकदलीय कम्युनिष्ट अधिनायकवाद मुलुकका लागि स्वीकार्य नहुने विचार व्यक्त गरेका छन् ।

काँग्रेस क्षेत्रीय समितिले झापाको गौरादह बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै सभापति देउवाले नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)ले सत्तास्वार्थ, लोकतन्त्र र संविधान समाप्त गर्ने उद्देश्यले वाम गठबन्धन गरेर मुलुकलाई विभाजनतर्फ उन्मुख गराएको आरोप लगाए ।

उनले लोकतन्त्रविना मुलकले समृद्धि नपाउने भएकाले जनताले लोकतन्त्रका पक्षधरलाई जिताउने विश्वास व्यक्त गर्दै भने, “वाम गठबन्धन अप्राकृतिक छ, यसले देशलाई थप अस्थिरतातर्फ धकेल्नेछ ।” नेता देउवाले झापाली जनतालाई लोकतन्त्रका पक्षमा अभिमत दिन आह्वानसमेत गरे ।

सो सभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनलाई अनिष्टको संज्ञा दिँदै त्यसको औचित्य नभएको टिप्पणी गरे । नेता पौडेलले नेपाली जनतालाई झुक्याएर साम्यवादको सपना नदेख्न चेतावनी दिँदै भने, “जनता अधिनायकवाद रोज्दैनन्, यसलाई चुनावमार्फत जनताले परास्त गर्छन् ।”

सभामा काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे, काँग्रेसबाट झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा खगेन्द्रपाण्डव अधिकारी, प्रदेशसभाका उम्मेदवारद्वय अनिलकृष्ण प्रसार्इं र राजनकुमार ढुंगाना, काँग्रेस निर्वाचन परिचालन समितिका केन्द्रीय सदस्य पदम पौडेल, काँग्रेस गौरादह नगर सभापति यादवराज सेढाईं, महासमिति सदस्य फूलवती राजवंशी, नेता सुरेश सुब्बा, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, राप्रपाका केन्द्रीय सदस्य दिलीप राई, भद्रपुर नगरपालिकाका पूर्वप्रमुख भारतेन्दु मल्लिकलगायतले लोकतन्त्र र मुलुकको समृद्धिका लागि काँग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए ।

सो अवसरमा गौरादह नगरप्रमुख रोहित शाहले गौरादहको पर्यटकीयस्थलका रुपमा परिचित माछापोखरीको विकासका निम्ति सरकारबाट सहयोगका लागि प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै भुटानी शरणार्थीका अग्रज डा भम्पा राईसहितको प्रतिनिधिमण्डलले भुटानी शरणार्थीको स्वदेश फिर्तीमा सहयोग पु¥याइदिन मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

नयाँ संरचनाले मुलुकमा स्थिरता र स्थायित्व प्रदान गर्ने–अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने नयाँ संरचनाले मुलुकमा स्थिरता र स्थायित्व प्रदान गर्ने बताएका छन् ।

निर्वाचन प्रचारका क्रममा आज रुपन्देही क्षेत्र नं. ५ अन्तर्गत रुद्रपुरको हरैयामा आयोजित चुनावीसभामा उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि मुलुक नयाँ संरचनाअनुसार संघीयतामा चल्ने भएकाले स्थिरता र स्थायित्व कायम भई विकासको गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष ओलीले निर्वाचनपछि मुलुकमा बामपन्थीको जनपक्षीय र स्थिर सरकार बन्ने निश्चित भएकाले जनतामा अहिले उत्साह देखिएको बताउँदै उनले भने “अब बन्ने सरकार साधारण बहुमतको होइन, दुई तिहाइसहितको बहुमतको बन्नेछ,” ।

नेपाली कांग्रेसले २०१५ सालमा दुई तिहाइ बहुमतको सरकार बनाएपनि धेरै समय टिकाउन नसकेको उल्लेख गर्दै उनले भने, “एमाले नेतृत्वमा बनेका छोटो समयका अल्पमतको सरकारले धेरै जनपक्षीय काम गरेर जनताको मन जितेको छ, अब २०७४ साल बामपन्थीमय हुने निश्चित छ ।”

अध्यक्ष ओलीले लुम्बिनीको विकास राष्ट्रिय भावनाको हिसाबले गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्दै लुम्बिनीमा अन्तर्रारिष्ट्रय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको हुँदा यसले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय विकासमा कायापलट गर्ने बताए ।

माओवादी केन्द्रका नेता रामबहादुर थापाले नेपालमा अब छिट्टै नै विभाजित रुपमा रहेका कम्युनिस्टबीच एकता हुन लागेको चर्चागर्दै नेपालको इतिहासमा यसलाई ठूलो घटनाको रुपमा लिइएको उल्लेख गरे ।

रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डिलाराम आचार्यले परिर्वतनका लागि नयाँ जग रुपन्देहीबाटै सुरु भएको भन्दै बेरोजगार युवालाई स्वरोजगार बनाउने योजना आफूसँग रहेको बताए ।

उनले अबको १५ वर्ष बाम गठन्धनलाई सरकारमा काम गर्न दिएमा वैदेशिक रोजागारमा गएका सबै युवालाई स्वदेशमा नै स्वरोजगार प्रदान गर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर ५ का सचिव तथा रुपन्देही क्षेत्र नम्बर ५ (क) का प्रदेशसभा सदस्य उम्मेदवार भूमिश्वर ढकाल र रुपन्देही क्षेत्र नम्बर ५(ख) का उम्मेदवार हजरत बलाल फकीर(राजु) लगायतले मुलुकको आर्थिक रुपान्तरणका लागि वाम गठबन्धनको सरकारको आवश्यकता रहेको बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार