वाम गठवन्धनका सुवेदीलाई पछि पार्दै काठमाडौँ–६ मा काँग्रेसका प्रधान विजयी


Share This

नेपालबहस संवाददाता    

२३ मंसिर, काठमाडौं । काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् ।

रक्षामन्त्रीसमेत रहेका प्रधान १६ हजार ७८५ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । प्रधानले वाम गठबन्धनका झक्कु सुवेदीलाई एक हजार ३०० मतान्तरले विजयी भएका हुन् ।

सुवेदीले १५ हजार ४८५ मत प्राप्त गरे । तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले चार हजार २२५ मत पाएका छन् ।

यो क्षेत्रमा कूल ५८ हजार १८६ मतदाता रहेकामा ४२ हजार ३९९ अर्थात् ७२.८६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताए । यसमध्ये ३९ हजार २६८ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणनाको तयारी भइरहेको छ ।

क्षेत्र नं १ को प्रदेश (क) मा काँग्रेस विजयी

यसैगरी, काठमाडौँ क्षेत्र नं १ को प्रदेशसभा (क) मा नेपाली काँग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले छ हजार २३१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनकी विष्णुकुमारी भुसालले चार हजार ६१८ मत ल्याएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले बताए ।

तेस्रो स्थानमा रहेको विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले चार हजार ३४३ मत पाएका छन् ।

क्षेत्र नं १ को प्रदेश (ख) मा वाम गठबन्धन विजयी

प्रदेश (ख) मा भने वाम गठबन्धनका गणेशप्रसाद दुलाल विजयी भएका छन् । उनले चार हजार २४२ मत प्राप्त गरेका छन् । उनी एमाले उम्मेदवार हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरजचन्द्र लामिछानेले चार हजार २२३ मत पाए । तेस्रो स्थानमा रहेको विवेकशील साझा पार्टीका पुरुषोत्तमप्रसाद ढकालले दुई हजार ७२५ मत ल्याए ।

क्षेत्र नं ४ को प्रदेश (क) मा काँग्रेस विजयी
काठमाडौँ क्षेत्र नं ४ को प्रदेशसभा (क) मा पनि काँग्रेसका पुराना नेता नरोत्तम वैद्य विजयी भएका छन् । वैद्यले आठ हजार ७१९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका निर्मल कुइँकेलले सात हजार ७९४ मत प्राप्त गरे ।

कुइँकेल दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं ४ मा काँग्रेस नेता गगनकुमार थापाबाट पराजित भएका थिए । यो प्रदेशसभामा तेस्रो स्थान विवेकशील साझा पार्टी नै भयो । विवेकशीलका दिपेश श्रेष्ठ वैद्यले तीन हजार ५१७ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।

प्रदेशसभा (ख) को भने मतगणना भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार